
काठमाडौं ।
ई-इंक टेक्नोलोजीले सन् १९९७ मा स्थापना भएदेखि डिजटल ह्वाइटबोर्ड, ल्यापटप डिस्प्ले, व्यक्तिगत एसेसरिजलगायतमा क्षेत्रमा आफ्ना थुप्रै एप्लिकेशनहरुलाई प्रमाणित गरिसकेको छ।
अमेरिकामा हालै सम्पन्न सीईएस २०२२ मा उक्त प्रविधि अटोमोटिभ क्षेत्रमा आधिकारिक रुपमा आएको छ।
सीईएसमा बीएमडब्लूले मोसम, सडकको अवस्था वा चालकको मनस्थिति अनुसार आफ्नो बाहिरी रंग परिवर्तन गर्नसक्ने ई-इंक भेहिकल एक्सटेरियर प्रदर्शन गरेको थियो।
सीईएसमा यो भविष्यको फिचर ई-इंक प्रयोग भएको बीएमडब्लू आईएक्स फ्लो नामक सवारी प्रत्यक्ष प्रदर्शन मात्र गरिएको र तत्कालै कुनै उत्पादनमा नजाने बुझिएको छ।
यो सवारीमा प्रयोग भएको इलेक्ट्रोफोरेटिक कलरिङ मेटेरियलले अमेजनको किन्डल स्लेटको ई-इंक डिस्प्लेमा गर्ने जस्तै गरी काम गर्छ। यी पदार्थमा दशाैं लाख माइक्रोक्याप्सुल रहेका छन् जसमा प्रत्येकमा एउटा ऋणात्मक चार्ज गरिएका सेता पिग्मेन्ट तथा एउटा धनात्मक चार्ज भएको कालो पिग्मेन्टको उपस्थिति रहने इन्ग्याजेट डटकममा उल्लेख छ।
सेटिङ अनुसार एउटा इलेक्ट्रिकल चार्ज यो पदार्थमा प्रयोग गरेपछि यसले ती माइक्रोक्याप्सुलमा रहेका सेतो वा कालो पिग्मेन्ट माइक्रोक्याप्सुलको माथि आउँछ र त्यसैले क्षणभरमै कारको रंग परिवर्तन हुन्छ।
प्रकाशित: २६ पुष २०७८, सोमबार