भ्याट नतिर्नेमा मोबाइल व्यवसायीदेखि स्टार्टअप समितिका सभापतिसम्मको कम्पनी (अपडेटसहित)

  • Technology Khabar | २५ पुष २०७८, आईतवार
भ्याट नतिर्नेमा मोबाइल व्यवसायीदेखि स्टार्टअप समितिका सभापतिसम्मको कम्पनी (अपडेटसहित)

काठमाडौं ।

अपडेट:

 

भ्याट नतिरेको सूचीमा आन्तरिक राजस्व कार्यालयले आफ्नो कम्पनीको नाम निकाल्नु अनुचित भएको रञ्जित राज आचार्यले बताएका छन्। उनले कार्यालयमा सबै कागतपत्र बुझाएर र भ्याट तिर्दा पनि उनीहरुकै कमजोरीको कारण आफूलाई असर परेको बताए।

“हाम्रो कम्पनीले सबै कागतपत्र र भ्याट रकम तिरेको डकुमेन्टहरु कार्यालयमा बुझाएको छ तर उनीहरुले नै सिस्टममा नहालेको र छुटेको हामीलाई भनेका छन्,” आचार्यले टेक्नोलोजीखबरसँग भने।

कम्पनीलाई सो बारेमा कुनै पत्र नै नपठाएको र जानकारी नै नदिई एक्कासी सार्वजनिकरुपमा सूची प्रकाशित गरेकोमा उनले आपत्ति व्यक्त गरे।

“हामीले लाखौं रुपैयाँ सरकारलाई कर तिर्दै आएका छौं तर पूर्व जानकारी र सम्पर्क नै नगरी सूची आयो। उनीहरुको कमजोरीको शिकार हामी भयौं। यसको जिम्मा कस्को हो ?,” उनले सोधे।

मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने व्यवसायीहरुमा मोबाइल आयातकर्तादेखि नेपाल उद्योग वाणिज्य महासंघका स्टार्टअप समितिका सभापतिका कम्पनी तथा फर्मसम्म परेका छन्।

आन्तरिक राजस्व विभाग अन्तरगत आन्तरिक राजस्व कार्यालय बानेश्वर र पुतलीसडकले मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेका फर्म र कम्पनीको सूची सार्वजनिक गरेको छ। जसमा महासंघका साथसाथै चेम्बरका पदाधिकारीहरु र नाम चलेका उद्यमी व्यवसायीहरुको कम्पनी तथा फर्महरु परेका छन्।

पाँच लाख रुपैयाँ भन्दा बढि भ्याट बक्यौता भएका कम्पनी र फर्मलाई पत्राचार, टेलिफोन र संकलन भ्रमण गर्दासमेत रकम दाखिला नगरिएपछि १५ दिनभित्र बक्यौता रकम तिर्न आउन सूचना निकालिएको कार्यालयहरूले जनाएका छन्।

बक्यौता कर नतिर्नेको सम्पत्ति र कारोबार रोक्का एवं लिलामी गरिने पनि सूचनामा उल्लेख छ। तोकिएको समय भित्र भ्याट नबुझाउनेको सूचीमा नाम चलेका व्यवसायीहरुका फर्म र कम्पनी समेत छन्।

समयमा भ्याट रकम नतिर्नेमा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपककुमार मल्होत्राको स्पेशटाइम नेटवर्क पनि समावेश रहेको छ। उनी नेपालमा सामसङका मोबाइल फोन आयात गर्ने कम्पनीका अध्यक्ष हुन भने मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष समेत हुन्।

उनको कम्पनी स्पेशटाइम नेटवर्कले रु. ४० लाख २९ हजार भ्याट नतिरेको सूचनामा उल्लेख छ। स्पेशटाइमले केबल टिभी सेवा प्रदान गर्दै आएको छ।

त्यसैगरी उनको ग्रुप अन्तरगत लगानी रहेको र एयरपोर्टमा सेवा प्रदान गर्ने कम्पनी आईएमएस एयरपोर्ट सर्भिसेज प्रालिले समेत १ करोड ६ लाख २९ हजार ५ रुपैयाँ भ्याट बुझाउन बाँकी रहेको छ। सो कम्पनी मनिष प्रसाद राजभण्डारीको नाममा रहेको छ। मनिष यसअघि नेपालमा कार्बन मोबाइलको कारोबारमा आबद्ध रहेका थिए।

यसका साथै भ्याट रकम नतिर्नेमा महासंघका कार्यसमिति सदस्य तथा स्टार्टअप एण्ड इन्नोभेसन समितिका सभापति रन्जित राज आचार्यको कम्पनी समेत रहेको छ। उनको कम्पनी निल बाराही फिल्म्सले पनि ७ लाख ५१ हजार १९ रुपैयाँ तिर्न बाँकी रहेको सूचनामा उल्लेख छ।

सो सूचीमा सूचना प्रविधि क्षेत्रमा कार्यरत कम्पनीहरुका साथसाथै सो सम्बन्धि कारोबार गर्ने विभिन्न कम्पनीहरु समेत छन्।

प्रकाशित: २५ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...