
काठमाडौं ।
नेपालीहरुले अब अमेजन वा ईवे तथा छिमेकी देशहरुका अलिबाबा वा फ्लिपकार्ट डटकमबाट सिधै वस्तु तथा सेवा खरिद गर्न पाउने भएका छन् ।
यसको अर्थ नेपालीले नेपालभित्रै खपत गर्नेगरी विदेशका अनलाइन ईकमर्श कम्पनीहरुबाट निश्चित मूल्यसम्मका वस्तु वा सेवा खरिद गर्न पाउने व्यवस्था लागू भएको छ।
डेबिट वा क्रेडिट कार्ड धारक नेपालीहरुले अब डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेर विदेशबाट २ हजार डलरसम्मको वार्षिक सामान तथा सेवाहरु खरिद गर्न सक्ने भएका हुन्।
नेपाल राष्ट्र बैंकले हालै विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका बैंक तथा वित्तिय संस्थाहरुलाई एकिकृत निर्देशिका जारी गर्दै २ हजार डलर अर्थात करिब २ लाख ४० हजार रुपैयाँसम्मको सुबिधा दिने व्यवस्था गरेको हो। यसअघिको ५०० डलरसम्मको सुबिधालाई परिमार्जन गरेर बैंकले वार्षिक २ हजार डलर पुर्याएको हो।
नेपालभित्रै खपत हुने गरी बैंक तथा वित्तिय संस्थाबाट जारी भएका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेर अनलाइनमार्फत वार्षिकरुपमा २ हजार डलरसम्मको विदेशी वस्तु वा सेवा विदेशबाट खरिद गर्न सक्ने सुबिधा दिएको हो ।
केन्द्रिय बैंकको निर्देशनअनुसार यस्तो विदेशी वस्तु वा सेवा प्रचलित कानूनले प्रतिबन्ध नलगाएको वस्तु वा सेवा हुनुपर्नेछ भने त्यस्तो वस्तु वा सेवा नेपालभित्रै बसेका बासिन्दाहरुले नेपाल भित्रै उपयोग गर्नुपर्नेछ।
तर राष्ट्र बैंकले यसमा हाल प्रयोगमा रहेका स्थानिय स्तरको कार्डमार्फत नै खरिद गर्न सकिने हो वा अन्य कार्ड जारी गर्नुपर्ने हो भन्ने बारेमा भने केहि स्पष्ट गरेको छैन्।
यसअघि नियमनकारी निकायले अनलाइन कारोबारको लागि अधिकतम सीमा ५०० अमेरिकी डलरसम्म खर्च गर्न सक्ने सुबिधा दिएको थियो। यस्तो सुबिधा क वर्गका तथा ख वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थाहरुमार्फत वार्षिकरुपमा विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सकिने सुबिधा दिएको थियो।
केन्द्रिय बैंकले सो ५०० डलरको प्रिपेड कार्डको सुबिधा समेत यथावत राखेको छ भने यसरी जारी भएका कार्ड अनलाइनमार्फत् वस्तु तथा सेवा आयात वापतको भुक्तानी गर्ने प्रयोजन बाहेक पुँजीगत कारोबारको लागि खर्च गर्न पाइने छैन । साथै, यस्ता कार्ड प्रयोग गरी एटिएमबाट नगद झिक्ने, पोसमार्फत कारोबार गर्ने लगायतका कारोबार गर्न नसकिने व्यवस्था मिलाउनु पर्नेछ।
प्रकाशित: २५ पुष २०७८, आईतवार