
काठमाडौं ।
ताप्लेजुङको दुर्गम तमोर खोला क्षेत्रमा इन्टरनेट सेवा विस्तार गरिएको छ । तमोरखोला क्षेत्रअन्तर्गत फक्ताङ्लुङ गाउँपालिकाको तीनवटा वडामा स्मार्ट लिङ्कको इन्टरनेट विस्तार गरी सेवा दिइएको हो।
फक्ताङ्लुङ गाउँपालिका–१ सावादिन, वडा नं. २ खेजेनिम र वडा नं. ३ लिङ्खिममा बुधबारदेखि इन्टरनेट सेवा सञ्चालन गरिएको हो । हालसम्म इन्टरनेट सुविधाको पहुँच नपुगेको उक्त क्षेत्रमा स्थानीय युवाको पहलमा इन्टरनेट सेवा पुर्याइएको हो ।
खेजेनिमका वडा सदस्य अन्छङ्बोका अनुसार दुर्गम गाउँसम्म इन्टरनेट सेवा विस्तार गर्नलाई १५ जना जति युवाको पहलबाट सम्भव भएको हो ।
सदरमुकाम फुङ्लिङदेखि आठ कोष टाढा रहेको खेजनिमसहित उक्त क्षेत्रमा सेवा प्रदायक स्मार्ट लिङ्क कम्पनीसँग समन्वय गरेर आफूहरूले इन्टरनेट सेवा पुर्याएको अन्छङ्बोले बताए। पाँचथरको लालीखर्क नजिक पाप्ले भञ्ज्याङ क्षेत्रमा टावर राखेर तमोर खोलासम्म इन्टरनेट विस्तार गरिएको उनले जानकारी दिए । उनका अनुसार गाउँसम्म इन्टरनेट विस्तार गर्नका लागि पात्ले भञ्ज्याङसहित सदरमुकाम फुङ्लिङको हेलिप्याड र खजेनिम तथा इखाबुको सिमाना सुङ्जा डाँडासमेत तीन ठाउँमा टावर राखिएको छ ।
तत्कालका लागि बढीमा चार सय घर सेवाग्राहीले उपभोग गर्न मिल्ने क्षमताको इन्टरनेट सेवा विस्तार गरिएको अन्छङ्बोले बताए। दुर्गम तथा टाढा दूरी सम्म इन्टरनेट सेवा विस्तार गर्नु परेकाले लागत खर्च भने करिब ३५ लाख रुपियाँ भएको पनि उनले जानकारी दिए । उनका अनुसार उक्त रकम पनि १५ जनाको युवाबाट नै जुटाइएको हो ।
लिङ्खिमको सिँवाबजार र खेजेनिम गाउँमा सेवाग्राहीले इन्टरनेट उपभोग गर्न थालेका छन् ।
अन्छङ्बोका अनुसार एक जना सेवाग्राहीले डिभाइस, राउटर, तारलगायत आवश्यक सामग्रीसहित इन्टरनेट जडानका लागि १६ हजार ५०० रुपियाँ खर्च गर्नुपर्ने भएको छ। उक्त खर्चबाट ७२ एमबीपीएस क्षमताको इन्टरनेट जडान हुने एक महिनासम्म निःशुल्क प्रयोग गर्न पाइने छ । त्यसपछि ग्राहकले मासिक एक हजार २०० रुपियाँ शुल्क बुझाउनु पर्ने जनाइएको छ। गोरखापत्रबाट
प्रकाशित: २५ पुष २०७८, आईतवार