
काठमाडौं ।
स्विडेनमा हालै एउटा अटोनोमस ड्रोनले हृदयाघात भएका एक ७१ वर्षीय वृद्धको ज्यान बचाएको छ।
उक्त ड्रोनले आफ्नै घर अगाडि साबेलले हिउँ सोहोरिरहेका बेला बिरामी परेका ती वृद्धलाई सहयोग गर्नका लागि एक डक्टरलाई विद्युतीय झट्का दिने मेशिन अर्थात् डिफिब्रिलेटर डेलिभर गरेको थियो।
बीबीसीका अनुसार आफ्नो नाम बताउन नचाहने ती वृद्धले उक्त सहयोग छिट्टै आएकाले निकै राम्रो भएको बताए।
उक्त ड्रोन कम्पनीले एम्बुलेन्स आउनुअघि नै ड्रोनले डिफिब्रिलेटर शुरु गराउन चाहेको बताएको छ।
ड्रोन कम्पनी एभरड्रोनले उक्त ड्रोनले अलार्म बजेर अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर अर्थात् एईडी डेलिभर गर्नका लागि ३ मिनेटको समय मात्र लिएको पनि जानकारी दिए।
ती बिरामीले उक्त दिन के के भयो भन्ने आफूलाई थाहा नभएको बताएको बीबीसीले उल्लेख गरेको छ।
उनका अनुसार आफू घरअगाडि थुप्रिएको हिउँ पन्छाउँदै गर्दा अचानक हृदयाघात भएपछि सबै कुरा अँध्यारो भएको थियो।
त्यही घरको बाटो भएर गाडी चलाइरहेका डा मुस्तफा अलि ती वृद्धलाई सहयोगका लागि जुटेका थिए। उनले एभरड्रोनलाई भने, ‘म स्थानीय अस्पतालबाट घर फर्किरहेको बेला झ्यालबाहिर हेर्दा एकजना वृद्ध लडिरहेको देखें।’
त्यसपछ डा अलिले जाँच गर्दा उनको ढुकढुक नभेटेपछि सँगै उभिएका अर्का व्यक्तिलाई ११२ मा फोन गर्न लगाएर आफूले सीपीआर अर्थात् छातिमा दबाब दिएर श्वासप्रश्वास चलाउने कार्डियोपल्मोनरी रिसस्सिटेशन प्रक्रिया शुरु गरेको बताए।
‘त्यसको केही मिनेटमै मैले मेरो टाउकोमाथि केही उडिरहेको देखें। यो डिफिब्रिलेटर बोकेको ड्रोन थियो’, उनले सुनाए।
एभरड्रोनका सीईओ म्याट्स साल्स्ट्रमले उक्त प्रविधिले एउटा बिरामीको ज्यान बचाउने सामूहिक कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
प्रकाशित: २४ पुष २०७८, शनिबार