उत्कृष्ट फोल्डिङ डिस्प्लेसहित अनर म्याजिक भी फोल्डेबल फोन अर्को साता आउँदै

  • Technology Khabar | २३ पुष २०७८, शुक्रबार

काठमाडौं ।

अनर म्याजिक भी फोल्डेबल फोन जनवरी १० मा लन्च हुने घोषणा कम्पनीले गरेको छ। अनरका सीईओ झाओ मिङका अनुसार यो फोनमा “सबैभन्दा पूर्ण संरचनात्मक डिजाइन” सहितको उत्कृष्ट फोल्डिङ स्क्रिन हुनेछ।

फोन गीकबेन्च वेबसाइटमा पनि भेटिएको छ, जसको माध्यमबाट अनर म्याजिक भी फोल्डेबल स्मार्टफोनका केही प्रमुख विशेषताहरूको बारेमा जानकारी प्राप्त भएको छ। लीकका अनुसार फोनमा क्वालकम स्न्यापड्रागन ८ जेन १  प्रोसेसर हुनेछ। यो पहिलो फोल्ड गर्न मिल्ने फोन हुनेछ, जुन नवीनतम स्न्यापड्रागन प्रोसेसरका साथ बजारमा आउनेछ।

चिनियाँ माइक्रो-ब्लगिङ साइट वेबोमा अनरको पोष्ट अनुसार अनर म्याजिक भी स्मार्टफोन जनवरी १० मा स्थानीय चिनियाँ समय अनुसार साँझ ७.३० बजे लन्च हुनेछ।

अनर म्याजिक भीका विशिष्टता र फिचरहरू

अनरका सीईओ झाओ मिङका अनुसार अनर म्याजिक भीले “सबैभन्दा पूर्ण संरचनात्मक डिजाइन” सहितको बजारमा उत्कृष्ट फोल्डिङ स्क्रिन प्रदान गर्नेछ। यो स्मार्टफोनमा डुअल स्क्रिन डिजाइन हुनेछ, जसमा ८ इन्चको आन्तरिक डिस्प्ले र ६.५ इन्चको बाहिरी डिस्प्ले हुनेछ। उनले अनर म्याजिक भीमा कम्प्लेक्स हिन्ज टेक्नोलोजी फिचर हुने जानकारी पनि दिए ।

कम्पनीद्वारा साझा गरिएको छोटो टिजर भिडियोले फोन फोल्ड गर्दा दुई प्यानलहरू बीच कुनै अन्तर नहुने संकेत गरेको छ।

फोनको बाहिरी स्क्रिनमा सेल्फी क्यामराको लागि होल-पञ्च कटआउट हुनेछ। यसको मूल्य १० हजार यूआन (लगभग १.८८ लाख रुपैयाँ) हुन सक्छ।

टिपस्टर डिजिटल च्याट स्टेशनले अनर म्याजिक भी फोनमा ५० मेगापिक्सेलको प्राइमरी क्यामरासहित ट्रिपल रियर क्यामरा सेटअप हुने दाबी गरेको छ। टिपस्टरले फोनको एउटा डिस्प्लेले ९० हर्ट्ज रिफ्रेस रेट पाउनेछ भने अर्को डिस्प्ले प्यानलमा १२० हर्ट्ज रिफ्रेस रेट हुने पनि उल्लेख गरेको छ।

फोल्डेबल फोनमा ६६ वाटको फास्ट चार्जिङ टेक्नोलोजी दिइएको छ र यो एन्ड्रोइड १२का साथमा आउन सक्छ। टिपस्टरले यो फोन क्वालकम स्न्यापड्रागन ८ जेन १ प्रोसेसरका साथ आउने दाबी गरेको छ।

गीकबेन्चमा फोनको सिंगल-कोर स्कोर १,१७६ अंक छ भने फोनको मल्टि-कोर स्कोर ३,४४० अंक छ।

प्रकाशित: २३ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया