
काठमाडौं ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको आज बिहिबार पुस २२ गतेदेखि पदावधि समाप्त भएको छ। उनले आफ्नो ३ वर्षे कार्यकाल पुरा गरेका छन्।
तत्कालिन केपी शर्मा ओली सरकारले २०७५ पुस १९ गतेको निर्णय वमोजिम ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको थियो। उनी २०७५ पुस २३ गते पदबहाल भएका थिए।
अधिकारीले आजबाट प्रबन्ध निर्देशकको पदबाट पदमुक्त भएको र अब पुरानै पदमा फर्किएको बताए।
“म आजबाट प्रबन्ध निर्देशक पदबाट मुक्त भएको छु, यसअघि नै बिदामा बसेको हुँदा कार्यालय गएको छैन्,” अधिकारीले टेक्नोलोजीखबरसँग भने।
उनी प्रबन्ध निर्देशकबाट हटेपनि टेलिकममा भने कार्यरत नै रहनेछन्।
तत्कालिन निर्देशिका र नियुक्तिअनुसार उनी प्रबन्ध निर्देशकबाट हटेसँगै पुरानै पदमा फर्किन पाउनेछन्। यसअनुसार अधिकारी अब १० औं तहको प्रबन्धकको रुपमा टेलिकममा हाजिर हुनेछन्।
उनले यसअघि नै आफू बिदामा बस्ने र नयाँ प्रबन्ध निर्देशकलाई सहयोग गर्ने टेक्नोलोजीखबरलाई बताएका थिए।
तर सरकारले अहिलेसम्म नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्न सकेको छैन्। सो प्रकृयाको बारेमा अदालतमा मुद्दा परेसँगै सरकारले छनौट गर्न लागेको नयाँ प्रबन्ध निर्देशकको प्रकृया रोकिएको हो। अदालतले सो बारेमा विभिन्न मुद्दाहरुमा सुनुवाई गर्दै अन्तरकालिन आदेश जारी गरेको छ।
प्रबन्ध निर्देशक नियुक्ति प्रकृयाका लागि कार्यबिधि नै परिवर्तन गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्रकृया नै विवादमा परेको हो।
सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेललाई प्रबन्ध निर्देशक नियुक्ति गर्न कार्यबिधि नै संसोधन गरेको भन्दै विवाद उत्पन्न भएको हो।
सम्बन्धित समाचार-
नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि निर्देशिका संसोधन गरेकोमा संसदिय समितिमा प्रश्न
जसले गर्दा हाल नयाँ प्रबन्ध निर्देशक नियुक्ति अनिश्चित भएको छ।
प्रबन्ध निर्देशक अधिकारी बिदामा बसेसँगै सरकारले प्रतिभा बैद्यलाई निमित्त प्रबन्ध निर्देशक पदमा नियुक्त गरिसकेको छ। उनी नायब प्रबन्ध निर्देशकको रुपमा कार्यरत छिन्। नयाँ प्रबन्ध निर्देशक नियुक्ति नहुन्जेलसम्म नेपाल टेलिकमलाई बैद्यले नै हाँक्नेछिन्।
सम्बन्धित समाचार-
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त
प्रकाशित: २२ पुष २०७८, बिहीबार