
काठमाडौं ।
नेपालमा हाल संचालनमा रहेका मोबाइल वालेट तथा भुक्तानी सेवा प्रदायकहरुसँग सेवा सञ्चालनका पर्याप्त पूर्वाधार नभएको देखिएको छ।
नेपाल राष्ट्र बैंकले अनुगमन गरेका अनुमति पत्र प्राप्त भुक्तानी सेवा प्रदायकहरुको अनुगमनको आधारमा कम्पनीहरुसँग पर्याप्त पूर्वाधार नभएको देखिएको हो।
नियमनकारी निकाय केन्द्रिय बैंकले सन् २०२०/२०२१ मा गरेको अनसाइट अनुगमनअनुसार सेवा प्रदायकहरुसँग सेवा सञ्चालनका क्रममा विभिन्न कमजोरी भेटिएको थियो।
अनुमगमनबाट आएको निष्कर्षअनुसार संस्थाको दैनिक कार्यमा बोर्ड सदस्यको संलग्नता भएको देखिएको छ भने पर्याप्त नीतिहरूको अभाव रहेको छ। त्यसैगरी भुक्तानी सेवा प्रदायकहरुको सेवा सञ्चालनको लागि अपर्याप्त भौतिक पूर्वाधार रहेको भेटिएको छ भने संस्थागत सुशासन कमजोर रहेको देखिएको छ।
यसका साथै संकटको समयमा व्यवसाय सञ्चालनका लागि उपयुक्त रणनीति नभएको, बोर्ड बैठकहरूको लागि कुनै प्रक्रिया नभएको र सेवाहरु शहरी क्षेत्रमा मात्र व्यापार केन्द्रित रहेको प्रतिवेदनमा औंल्याईएको छ ।
स्थलगत निरीक्षणको समयमा, राष्ट्र बैंकले सम्बन्धित जानकारी सङ्कलन गरेको थियो। जसमा प्रणालीगत जोखिम, परिचालन जोखिम, सेटलमेन्ट जोखिम र इजाजत पत्र संस्थाहरुको तरलता जोखिमका साथसाथै प्रचलित बजार परिदृश्यमा उपलब्ध जानकारीका आधारमा संस्था र विश्लेषण गरिएको थियो।
बैंकले सो अवधिमा पिएसपीहरु नेपाल पे टाइम प्रालि, स्प्यारो पे प्रालि, फोकस वन पेमेन्ट सलुसन्स प्रालि तथा पिएसओ फर्स्ट पे टेक्नोलोजी प्रालिको अनुमगमन तथा निरिक्षण गरेको थियो । यी चार ओटा कम्पनीहरुमा उल्लेखित समस्याहरु भेटिएको बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ।
राष्ट्र बैंकले कोभिड १९ का कारण लक्ष्यअनुसार अनुगमन गर्न नसकिएको जनाएको छ।
प्रकाशित: २० पुष २०७८, मंगलवार