गुणस्तरीय सेवाको कार्ययोजना पेश गर्न टेलिकमलाई विकास समितिको निर्देशन

  • Technology Khabar | १९ पुष २०७८, सोमबार
गुणस्तरीय सेवाको कार्ययोजना पेश गर्न टेलिकमलाई विकास समितिको निर्देशन

काठमाडौं ।

प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्नका लागि लागि ३० दिनभित्र आगामी कार्ययोजना पेश गर्न संघीय संसदको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमलाई निर्देशन दिएको छ।

नेपाल टेलिकमको सेवा तथा गुणस्तर खस्किएको बारे चाैतर्फी गुनासा र आलोचना आइरहेका बेला समितिका तर्फबाट यस्तो निर्देशन आएको हो।

निर्देशनमा टेलिकमले सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसक्ने कार्ययोजना पेश गरिसकेकोमा हालसम्म यो सेवा विस्तार हुन नसकेका ४३ स्थानीय तहमा २२८ ओटा टावर निर्माण गर्न बाँकी रहेको देखिएकोले उक्त कार्य कहिलेसम्म बनिसक्छ भन्ने कार्ययोजना बनाएर १५ दिनभित्र समितिमा पेश गर्न पनि भनिएको छ।

संघीय संसदको विकास तथा प्रविधि समितिको आज बसेको बैठकले नेपाल टेलिकमले आफ्ना ग्राहक सङ्ख्या बढिरहेको बताए पनि उसले प्रदान गर्नुपर्ने गुणस्तर र पूर्वाधार निर्माणको काम अघि नबढेकाले आवश्यक जनशक्ति तत्काल पदपूर्ति गरेर काम अघि बढाउन सूचना तथा सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ।

यसै सन्दर्भमा समितले सूचना तथा प्रविधि मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई कुनै पनि निकायलाई निरुत्साहन वा प्रोत्साहन गर्नेगरी नभइ संस्थाको हितमा हुनेगरी कार्यविधि वा नियमावलीमा संशोधन गर्दा ध्यान पुर्याउन पनि निर्देशन दिएको छ।

प्रकाशित: १९ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...