सामाजिक सुरक्षा कोषले अस्पताललाई अनलाइनबाटै भुक्तानी गर्ने तयारी

  • Technology Khabar | १९ पुष २०७८, सोमबार

काठमाडौं ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले कोषमा आबद्ध योगदानकर्ताको उपचारका लागि सोझै अस्पताललाई अनलाइन भुक्तानी गर्ने व्यवस्थाको तयारी गरेको छ। कोषका अनुसार अनलाइन भुक्तानीको व्यवस्था भने आउँदो फागुन १ गतेदेखि लागू गर्ने तयारी भइरहेको छ।

कोषले हाल योगदानकर्ताले अस्पतालमा गरेको उपचार खर्चबापत दाबी गरेका बिलका आधारमा योगदानकर्तालाई भुक्तानी गर्दै आएको छ।

सम्झौता भएका अस्पतालमा योगदानकर्ताले उपचार गराउँदा लागेको खर्च कोषले ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५’ अनुसार भुक्तानी गर्दै आएको छ।

कोषका उपकार्यकारी निर्देशक एवं प्रवक्ता विवेक पन्थीका अनुसार सम्झौता हुँदाको बखत उल्लेख गरिएको दरमा ८० प्रतिशत कोषले रकम भुक्तानी गर्ने र बाँकी रहेको २० प्रतिशत रकम सम्बन्धित योगदानकर्ताले तिर्नुपर्छ।

कोषले अहिलेसम्म कोषमा आबद्ध योगदानकर्ताको स्वास्थ्य उपचारका लागि देशभरका ११० वटा अस्पतालसँग सम्झौता गरिसकेको छ।

कोषका उपकार्यकारी निर्देशक पन्थीले सकेसम्म देशभरका सबै जिल्लास्तरका अस्पताललाई कोषमा आबद्ध गर्ने योजनाका साथ काम भइरहेको र यही सातादेखि सातै प्रदेशमा टोली परिचालन हुने जानकारी दिए । कोषले प्रत्येक प्रदेशमा कम्तीमा १० वटा र बढीमा जति पनि हुुनसक्ने गरी अस्पताललाई कोषमा सूचीकृत गर्नका लागि टोली परिचालन गर्न लागिएको उनले जानकारी दिए।

कोषले सुरुवाती चरणमा केही अस्पतालमा सोझै भुक्तानीको परीक्षण गरेको छ । अस्पतालमा गरिएको परीक्षणपछि कोषमा आबद्ध भएका अस्पतालमा सो सेवा सञ्चालन हुने र फागुन १ गतेदेखि सोझै भुक्तानीको विधि कार्यान्वयन गर्नेगरी तयारी भइरहेको कोषले जनाएको छ । यसका लागि कोषले माघ मसान्तभित्र कोषमा आबद्ध हुनसमेत सूचनामार्फत आग्रह गरेको छ ।

कोषका उपकार्यकारी निर्देशक पन्थीले सम्झौता भएको अस्पतालको मात्रै बिल भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा केही समय लाग्ने भए पनि कार्यान्वयनमा जाने बताए। कोषमा आबद्ध भएका योगदानकर्ताले स्वास्थ्य उपचार गराउनुपरेमा वार्षिक एक लाख रुपैयाँसम्मको भुक्तानी पाउन सक्ने व्यवस्था छ।

गत बिहीबारसम्म कोषमा १६ हजार १६० रोजगारदाताका तीन लाख तीन हजार ९८ जना योगदानकर्ता (श्रमिक र कर्मचारी) आबद्ध भएका छन्। पछिल्लो समय मासिक पाँच हजार योगदानकर्ता र दैनिक तीन करोड रुपियाँभन्दा बढी योगदान रकम कोषमा जम्मा हुने गरेको कोषले जनाएको छ।

कोषमा हालसम्म ११ अर्ब ५७ करोड रुपियाँ योगदान रकम सङ्कलन भइसकेको छ भने ५७ करोड ४५ लाख रुपियाँ बराबरको रकम विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ। यसैगरी १२ हजार ४११ जनाले दाबी गर्दा १६ हजार २४६ पटक भुक्तानी भएको छ। – गोरखापत्रबाट

प्रकाशित: १९ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया