बागलुङको काठेखोला बन्यो ‘डिजिटल गाउँपालिका’

  • Technology Khabar | १८ पुष २०७८, आईतवार

काठमाडौं ।

बागलुङको काठेखोला गाउँपालिका अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने जिल्लाकै पहिलो गाउँपालिका भएको छ।

दश स्थानीय तह रहेको बागलुङमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा काठेखोला सूचना प्रविधिमा पहिलो भएको थियो।

गाउँपालिकाले पेपरलेस बनाउने गरी आफूलाई ‘डिजिटलाइज’ गाउँपालिका घोषणा गरेर अभियान नै थालेको थियो।

‘डिजिटल गाउँपालिका’ बनाउने अभियानअन्तर्गत कार्यपालिकाको कार्यालयदेखि वडा तहसम्मका सबै काम अनलाइन प्राणालीमार्फत गर्न थालिएको गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिएका छन्।

“विभिन्न घटना दर्तादेखि पञ्जीकरणका काम सबै वडाबाट अनलाइन प्रविधिमा प्रविष्ट गर्ने गाउँपालिका देशकै पहिलो दाबी गरिएको छ।

“आधिकारिक जानकारी दिने निकाय त कोही छैन, तर पञ्जीकरणका काम अनलाइन प्रविधिमा भएको यसअघि हामीबाहेक अरु कोही छ भन्ने हामीलाई लाग्दैन।”अध्यक्ष थापाले दाबी प्रस्तुत गर्दै भने।

गाउँपालिकाको राजश्व सङ्कलनको कामसमेत अनलाइन प्रविधिबाट गर्ने गरेको छ। निर्माणका काममा उपभोक्ता समितिको विवरणदेखि कर्मचारीको हाजिरीसम्मका काम सबै अनलाइन प्रणालीमा छन् ।

यस बाहेक गाउँपालिकाले डिजिटल प्रोफाइल समेत तयार पारेको छ। त्यसैगरी अब किसानका उत्पादनदेखि बजारीकरणका लागि आवश्यक कृषि एपको तयारीमा भएको जानकारी दिएको छ।

विद्यालय, स्वास्थ्य संस्था र अन्य विषयगत शाखामार्फत सञ्चालन हुने कार्यालयसमेत अनलाइन प्रविधिको सहायता सञ्चालनको तयारी भइरहेको थापाले बताए। “पाँच वर्षको अवधिमा हामीले प्रविधिका क्षेत्रमा फड्को मारेको गाउँपालिकाको पूर्वाधार विकास समितिका संयोजक प्रेम लामिछानेले बताए।

भौगोलिक विकटताका बाबजुद गाउँपालिकाले सबै वडामा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ। बैंक तथा वित्तीय संस्थाको सहकार्यमा डिजिटल तथ्याङ्क रहने गरी सामाजिक सुरक्षा भत्ता गाउँगाउँमा पुगेको सामाजिक विकास समितिका संयोजक विद्यापति शर्माले बताए।

प्रकाशित: १८ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार