आईटी विज्ञ बास्कोटाको मुद्दामा लुम्बिनी प्रदेश सरकार विरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश

  • Technology Khabar | १८ पुष २०७८, आईतवार
आईटी विज्ञ बास्कोटाको मुद्दामा लुम्बिनी प्रदेश सरकार विरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं ।

लुम्बिनी प्रदेश सरकारले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानबाट बदनियतपूर्वक हटाएको भन्दै अनुप बास्कोटाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

सूचना प्रविधि(आईटी) विज्ञ बास्कोटाले आफूलाई बदनियतपूर्वक प्रतिष्ठानको कार्यकारी निर्देशक पदबाट हटाईएको भन्दै २०७८ पुस ९ गते सर्वोच्च मुद्दा दायर गरेका थिए।

उनलाई लुम्बिनी प्रदेश सरकारले दुई वर्षअगाडि प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा नियुक्ती गरेको थियो भने गत मंसिर १६ गते पदबाट हटाएको थियो।

सोही मुद्दामा सर्वोच्च अदालतका न्यायाधिश कुमार रेग्मीको एकल इजलासले लुम्बिनी प्रदेश सरकारसहित विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

सो मुद्दामा उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनी प्रदेश मुकाम बुटवल नेपाल, सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान लुम्बिनी प्रदेश मुकाम बुटवल रुपन्देही, मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तथा मन्त्रालय लुम्बिनी प्रदेश मुकाम बुटवल वर्तमान कार्यकारी निर्देशक रेग बहादुर भण्डारीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए।

बास्कोटालाई हटाएर लुम्बिनी सरकारले भण्डारीलाई हाल कार्यकारी निर्देशक नियुक्त गरेको हो।

बास्कोटाले आफूलाई राजनीतिक व्यवहार गरेर जबर्जस्ती निष्कासन गरेपछि कानूनी प्रक्रियामा गएको टेक्नोलोजीखबरलाई जानकारी दिए।

उनकाअनुसार सर्वोच्चले आगामी पुस २५ गते अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

बास्कोटाले यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशकको पदमा समेत काम गरिसहेका छन् ।

प्रकाशित: १८ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार