
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरको रेडियो फ्रिक्वेन्सीबाट हुने इएमआर अर्थात् इलेक्ट्रोम्याग्नेटिक रेडियशन मापन गर्नका लागि आशयपत्र आह्वान गरेको छ।
नेपाल सरकारको बजेटमा सम्पन्न हुने प्याकेज १ र प्याकेज २ परियोजनामा छनोट हुने परामर्शदाता संस्थाले मोबाइल टावरमा रहेका रेडियो फ्रिक्वेन्सीले उत्सर्जन गरेका इलेक्ट्रोम्याग्नेटिक रेडियशन अर्थात विद्युतीय विकिरणको मापन गरी त्यसको मात्रा नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको मापदण्ड अनुरुप रहे नरहेको निर्क्योल गर्नुपर्नेछ।
ईएमआर मापदण्ड मापन ताथ प्रमाणीकरणको काम दुई प्याकेजमा वर्गीकरण गरिएको र प्रत्येक प्याकेजका लागि परामर्शदातृ नियुक्त गरिने बुझिएको छ।
प्याकेज १ मा प्रदेश १ र २ का जिल्लाहरु रहनेछन् भने यहाँको ईएमआर गरिने मोबाइल टावरको नमूना आकार कम्तीमा ६०० ओटा रहनेछ।
यस्तै प्याकेज २ मा कर्णाली तथा सुदूर पश्चिम प्रदेशका जिल्लाहरु रहने तथा यहाँको नमूना आकार अर्थात् स्याम्पल साइज कम्तीमा ४०० साइट हुने सूचनामा जनाइएको छ।
यसको उद्देश्य दूरसञ्चार प्राधिकरणले जारी गरेको मोबाइल टावरका रेडियो फ्रिक्वेन्सीबाट सिर्जना हुने विकिणबाट जनसाधारण तथा पेशागत सुरक्षासम्बन्धी विनियमावलीको अध्ययन तथा विश्लेषण गर्नु रहेको छ।
यसबाहेक प्रत्येक जिल्लामा टावरको साइज निर्धाण गर्ने, परामर्शदातृ निकायले र्यान्डम स्याम्पलिङ मार्फत् साइट निर्धारण गर्नुपर्ने छ।
छानिएको संस्थाले प्रत्येक प्याकेजमा ग्रामीणदेखि अर्ध-शहरी गरी कम्तीमा १५० साइटमा परीक्षण गर्नुपर्नेछ। यी साइटहरु अस्पताल, विद्यालय नजिकका क्षेत्रका पनि हुनुपर्ने र त्यसले निम्त्याउन सक्ने खतराको मापन गरिनुपर्नेछ।
यसरी परीक्षण गरिएका टावरहरु सकेसम्म सबै अपरेटरका हुनुपर्ने पनि उल्लेख छ।
परीक्षणमा ९०० देखि १८००, २१००, २३०० र २५०० मेगाहर्ज ब्यान्ड समावेश हुनुपर्ने यसले प्राधिकरलाई उसले विकिरणले सर्वसाधारण र पेशालाई पार्ने जोखिम नियन्त्रण गर्नका लागि विनियमावली लागू गर्न चाल्नुपर्ने कदम सुझाउँदै प्रतिवेदन बुझाउनेछ।
यसका लागि इच्छुक र योग्यता पुगेका परामर्शदातृले आगामी जनवरी १३ मध्याह्न १२ बजेभित्र प्राधिकरणको कार्यालय जमलमा वा www.bolpatra.gov.np/egp मार्फत् पनि बुझाउन सकिने सूचनामा उल्लेख छ।
उक्त बोलपत्र क्यूईसी अर्थात् गुणस्तर, अनुभव र कार्यक्षमताका आधारमा खोलिने र यी सबैका अंकभार क्रमश: ४०, ४५ र १५ प्रतिशत हुनेछ भने उत्तीर्ण हुनका लागि ६० प्रतिशत अंक ल्याउनु आवश्यक हुनेछ।
प्रकाशित: १८ पुष २०७८, आईतवार