
काठमाडौं ।
नेपालमा बैंक तथा वित्तीय संस्थाहरुमार्फत छुट्टै डिजिटल बैंक खोल्न दिनका लागि सुझाब दिईएको छ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपालको बैंकिङ अभ्यास तथा अवस्थाका बारेमा गरेको अध्ययन प्रतिवेदनले नेपालमा छुट्टै डिजिटल बैंक खोल्न सुझाब दिएको हो।
प्रतिवेदनमा दूरसञ्चार सञ्जालमार्फत् प्रदान गरिने वित्तीय सेवालाई बैंक तथा वित्तीय संस्थालाई नियमन र सुपरीवेक्षण गरेजस्तै गर्ने गरी सोही किसिमको बलियो नियन्त्रण प्रणालीको विकास गर्नु उपयुक्त हुने उल्लेख छ।
त्यसैगरी डिजिटल बैंकिङ्गमा संचालन जोखिम न्यून होस् भन्नाका लागि डिजिटल बैंकिङ्ग सम्बन्धी सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई सहायक कम्पनी खोल्न दिनु उपयुक्त हुने सिबिफिनको सो अध्ययन प्रतिवेदन, ०७८ ले सुझाब दिएको छ।
डिजिटल बैंकिङ्ग सम्बन्धी सेवाको औचित्य स्पष्ट पार्दै भारतको पेमेन्ट बैंकको उदाहरण दिँदै नेपालजस्तो करिब ३ करोड जनसंख्या भएको देशका लागि २८ भुक्तानी सेवा प्रदायक हुनु आफैँमा धेरै भएको जिकिर गरेको छ।
भोलि जोखिम बढेपछि फेरि मर्जरमा जान बाध्य पार्नुपर्ने वा व्यवस्थापन नियन्त्रणमा लिनुपर्ने अवस्था आउनसक्ने भएकाले र जोखिम न्यूनीकरणका लागि बैंकहरुलाई नै सहायक कम्पनी खोल्न दिने सुविधा उपलब्ध गराउँदा उपयुक्त हुने अध्ययन प्रतिवेदनमा भनिएको छ।
हार्डवेयर र सफ्टवेयरको सूची तयार पार्न सुझाब
यसका साथै बैंक तथा वित्तीय संस्थाहरुमा हुने सूचना प्रविधिको जोखिमबाट बच्नका लागि सूचना प्रविधिमा प्रयोग हुने हार्डवेयर र सफ्टवेयरको सूची प्रकाशित गर्नका लागि सुझाब दिईएको छ।
उत्तम/सर्बोत्तम हार्डवेयर र सफ्टवेयरको बारेमा अध्ययन गराई हरेक वर्ष सूची प्रकाशित गर्ने । जसले गर्दा, कमसल खालको हार्डवेयर र सफ्टवेयर को प्रयोगबाट हुनसक्ने जोखिम न्यूनिकरण हुनसक्ने भनिएको छ।
त्यसैगरी ती उत्तम/सर्बोत्तम हार्डवेयर र सफ्टवेयरको सूची मध्येबाट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई उत्प्रेरित गर्ने र धेरैले खरिद गर्दा वार्षिकरुपमा मर्मत खर्च कम गर्नका लागि नेगोसिएसन गर्न सकिने संभावना रहने उल्लेख छ।
त्यसैगरी सिस्टम अडिटका लागि पनि त्यस्तै सूची प्रकाशित गर्ने व्यवस्था मिलाउनु उपयुक्त हुने सिबिफिनको सुझाब छ। जसले गर्दा सिस्टम अडिट कार्य प्रभावकारी हुने र सही अर्थमा जोखिम न्यूनीकरण गर्न सहयोगी हुनसक्ने अध्ययन प्रतिवेदनमा बताईएको छ।
यसले गर्दा धेरै बैंक तथा वित्तीय संस्थाले सोही प्रकृतिको प्रयोग गर्दा सूचना प्रविधिसँग सम्बन्धित कर्मचारी पाउन सकिने संभावना पनि रहने सुझाब नेपाल राष्ट्र बैंकलाई दिईएको छ।
प्रकाशित: १६ पुष २०७८, शुक्रबार