अप्टिकल फाइबर काटिँदा नेटवर्क समस्या

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
अप्टिकल फाइबर काटिँदा नेटवर्क समस्या

काठमाडौं ।

नारायणगढ–बुटवल राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबरमा दिनहुँजसो समस्या देखिन थालेको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा पटक–पटक अप्टिकल फाइबर काटिन थालेको हो। अरुणखोला क्षेत्रमा बिहीबार दिनभरजसो नेपाल टेलिकमको मोबाइल नेटवर्क र ल्याण्डलाइन फोनमा समस्या भएकोमा नवलपुरमा पटक–पटक यस्तै समस्या दोहोरिन थालेको छ।

माइक्रोवेभमार्फत् वैकल्पिक सेवा 

‘अहिले भर्खर पुनः तार जडान भएको छ, तार काटिँदा हामीले माइक्रोवेभबाट सेवा प्रदान गर्यौ, तर यसरी सेवामा गुणस्तर हुँदैन। आज पनि हामीले ग्राहकहरुलाई काउन्टरबाट फिर्ता पठाउनु पर्यो’, नेपाल टेलिकमका कावासोती शाखा प्रमुख चन्दनकुमार झाले टेक्नोलोजीखबरसँग भने।

अन्यत्रको तुलनामा नवलपरासीको गैँडाकोट थुम्सीबाट दाउन्नेसम्मका सेवाग्राहीले यस्तो समस्या झेल्न थालेका छन्।

गैंडाकोट बजार क्षेत्रबाहेक अन्यत्र समस्या

झाका अनुसार गैंडाकोट बजार क्षेत्रबाहेक अन्यत्र समस्या देखिएको छ। गैंडाकोट बजारमा भने भरतपुरबाट सेवा विस्तार भएकाले समस्या नभएको उनले जानकारी दिए।

यसअघि बिछ्याइएको नेपाल टेलिकमका तार पुरानो सडक किनारसँगै रहेकाले अहिले सडक फराकिलो बनाउँदा बीच भागमा पर्ने अवस्था छ। पुरानो अप्टिकल फाइबर विस्तार भएको क्षेत्र पहिचान नगरी सडक विस्तार गर्दा समस्या भएको टेलिकमका अधिकारी बताउँछन्।

नयाँ अप्टिकल फाइबर व्यवस्थापनका लागि टेलिकमले अहिलेसम्म कुनै योजना सार्वजनिक गरेको छैन।

‘समस्याको विकल्प खोज्न हामीले केन्द्रीय कार्यालयलाई पत्राचार गरेका छौं, विद्युत् प्राधिकरणको ओपीजीडब्लू लिएमा यस्तो सेवामा समस्या आउँदैन’, झाले भने।

सडकले तार काटेर हैरान

पटक–पटक तार काटिएकाले जसोतसो मर्मत भए पनि जुनसुकै बेला सेवा अवरुद्ध हुने, गुणस्तर खस्किने, बोलेको नबुझिने जस्ता समस्या आउन सक्ने झासहितका अधिकारीको ठहर छ।

झाले दोहोर्याउँदै भने, ‘सडकले तार काटिदिँदा हैरान भइसक्यौं, यस विषयमा सीडीओसापसँग पनि कुरा गर्दैछौं।’

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...