
काठमाडौं ।
केही दिनयताको हिमपातले उच्च पहाडी र हिमाली भेगमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुन थालेको छ।
कर्णाली प्रदेशसहित, मनाङ, मुस्ताङ, म्याग्दी, ताप्लेजुङ लगायतका उच्च क्षेत्रका बस्तीमा सञ्चार सम्पर्क प्रभावित भएको हो।
वैकल्पिक उर्जा र लघु जलविद्युतमार्फत् इन्टरनेट र टेलिफोन सेवामा जोडिएका मुलुकका उच्च भेगका अधिकांश बस्तीको सञ्चार अवरुद्ध हुन थालेको हो।
विद्युतको केन्द्रीय प्रसारणलाइन विस्तार नभएका कर्णाली प्रदेशका धेरै भेगमा यस्तो समस्या देखिन थालेको छ।
साविकको कर्णाली अञ्चलका जुम्ला र कालीकोटबाहेक अन्य जिल्लामा विद्युतको केन्द्रीय प्रसारण विस्तार भएको छैन।
बाक्लो हिमपातले कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला र डोल्पाको हवाई सेवासमेत ठप्प भएको छ।
मुगुमा लघु जलविद्युत् सेवा अवरुद्ध नभए पनि हिमपातले नाङ्मा–गमगढी सडकमा सवारी आवागमन ठप्प भएको जुम्लाका पत्रकार डीबी बुढाले बताए।
प्रकाशित: १५ पुष २०७८, बिहीबार