
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सको चीनमा भएको चिप उत्पादनको कार्य कोभिड-१९ का कारण प्रभावित भएको छ।
कोभिड-१९ को नयाँ सङ्क्रमणसँग जुध्नका लागि चीन सरकारले लागू गरेको शून्य सहनशीलता अभियानलाई निरन्तरता दिँदा सियान शहरमा रहेको दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्ससँग सम्बन्धित ठूला चिप बनाउने सुविधाहरू प्रभावित भएका छन्।
सामसङले सहरमा रहेका आफ्ना प्लान्टहरूमा “अस्थायी रूपमा सञ्चालन समायोजन” गर्ने बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसले सबै आवश्यक उपायहरू लिने बताएको छ भने ग्राहकहरू प्रभावित नहुने सुनिश्चित गर्न अन्य स्थानहरूमा कारखानाहरू प्रयोग गर्ने सहितका उपाय अपनाउने भएको छ। सियान शहरमा रहेका आफ्ना ३,३०० भन्दा बढी कर्मचारीहरूको स्वास्थ्य र सुरक्षालाई कम्पनीको उच्च प्राथमिकतामा राखिएको बताईएको छ।
सामसङसँग सियानमा दुईवटा मेमोरी वेफर फ्याब्रिकेशन प्लान्टहरू छन्, जहाँ यसले थ्रीडी नान्ड फ्ल्यास उत्पादनहरू उत्पादन गर्छ। कम्पनीले कसरी प्लान्टहरू प्रभावित भयो भनेर खुलासा गरेको छैन्।
मिडिया रिपोर्टपछि यसको प्लान्टहरूले आपतकालीन उपायहरू लिनुपरेको भन्दै सामसङले विज्ञप्ति जारी गरेको हो। जसमा अत्यावश्यक कामदारहरूलाई पनि लकडाउन जारी रहेको खण्डमा साइट छात्रावासमा बस्न आवश्यक हुनेछ। कम्पनीले कसरी उत्पादन जारी राख्ने भन्ने बारे चिनियाँ अधिकारीहरूसँग परामर्श गरिरहेको रिपोर्टहरूले उल्लेख गरेका छन्।
सो शहरमा चिनियाँ अधिकारीहरुले गत सातादेखि लकडाउन घोषणा गरेका छन्।
प्रकाशित: १५ पुष २०७८, बिहीबार