
काठमाडौं ।
स्मार्ट भ्वाइस असिस्टेन्ट एलेक्साले एउटी १० वर्षीया बालिकालाई सिक्का लिएर बिजुलीको प्लगमा छुन लगाएपछि अमेजनले अपडेट गरेको छ।
एलेक्सालाई ती बालिकाले कुनै चुनाैतीपूर्ण काम गर्न भनेपछि उसले एउटा फोनको चार्जर लिएर प्लगमा आधा घुसाएर बाहिर बाँकी रहेको पिनमा एक पेनीको सिक्काले छुने सुझाव दिएको बताइएको छ।
अमेजनले उक्त गल्तीका बारेमा थाहा पाउने बित्तिकै समाधान गरेको बताएको कुरा उद्धृत गर्दै ती बालिकाकी आमा क्रिस्टिन लिभ्डालले सम्पूर्ण घटनाक्रम ट्विटरमा अपडेट गरेकी रोयटर्सले जनाएको छ।
ती बालिकाकी आमाले ट्वीटमा लेखेकी छिन्, ‘हामी यूट्युबमा शारीरिक व्यायाम प्रशिक्षकलाई फलो गर्दै सुतेर खुट्टामा जुत्ता अड्याइराख्ने जस्ता केही भाैतिक चुनाैती परीक्षण गरिरहेका छाैं। बाहिर माैसम खराब छ। यस्तोमा मेरी छोरी अर्को चुनाैती प्रयास गर्न चाहन्छिन्। यसै क्रममा एको स्पीकरले आफूले वेबसाइटमा भेटेको एउटा चुनाैतीमा भाग लिन हामीलाई सुझाव दियो।’
द पेनी च्यालेन्ज नामक उक्त गतिविधि १ वर्षयता टिकटक तथा अन्य सामाजिक सञ्जालमा निकै भाइरल हुँदै आएको छ।
‘यो गतिविधिको प्रयास गर्दा औंला, हात तथा नाडीसमेत गुमाउनुपर्ने हुन सक्छ’, कार्लाइल इस्ट फायर स्टेशनका स्टेशन म्यानेजर माइकल क्लस्करले गत वर्ष द प्रेस नामक अखबारलाई बताएका थिए, ‘यसको मानिसहरुलाई गम्भीर घाइते बनाउन सक्छ।’
अमेरिकाका अग्नि नियन्त्रण अधिकारीहरुले पनि यो तथाकथित चुनाैतीका विरुद्धमा बोलेका छन्।
लिभ्डालले ट्विटरमालेखेकी छिन्, ‘नो, एलेक्सा, नो।’
उनले यसो हुँदा पनि आफ्नी छोरी उक्त गतिविधि गर्नका लागि निकै स्मार्ट रहेकी पनि उल्लेख गरेकी छिन्।
प्रकाशित: १४ पुष २०७८, बुधबार