
काठमाडौं ।
दूरसञ्चार सेवाप्रदायकले तोकिएभन्दा बढी शुल्क लिए नलिएको हेर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको अनुगमन गर्ने भएको छ। मोबाइल अपरेटरहरुले प्राधिकरणबाट स्वीकृत लिएको शुल्कभन्दा बढी शुल्क ग्राहकसँग लिए नलिएको जानकारी लिन प्राधिकरणले अनुगमन सेवा खरिद गर्न लागेको हो। प्राधिकरणले मङ्गलबार इच्छुक परामर्श संस्थाबाट त्यस्तो सिस्टमसहितको सेवाका लागि आवेदन माग गरेको छ।
यस्तो सेवामार्फत दूरसञ्चार सेवाप्रदायकको बिलिङ प्रणाली र उनीहरूले विभिन्न सेवाबापत लिइरहेको शुल्कको यकिन जानकारी लिन सकिने बताईएकोछ। प्राधिकरणले पहिलो चरणमा मोबाइल सेवा प्रदायकले उपलब्ध गराउने भ्वाइस, डाटा, एसएमएस, भासका साथै डाटातर्फ टुजी, थ्रीजी र फोरजी सेवामा सेवाप्रदायकले लिइरहेको शुल्कलगायतका विषयमा डिजाइन र मापदण्ड तयार पार्नेछ।
यसमा मोबाइल अपरेटरहरूको बिलिङ मिटरिङ र चार्जिङ शुद्धताको प्रमाणीकरणको लागि परीक्षण र मापन डिजाइन र प्रदर्शन गर्नुपर्नेछ। यस्तो सिस्टमले मोबाइल अपरेटरहरूसँग प्रणाली एकीकरण बिना स्वतन्त्र रूपमा काम गर्ने किसिमको हुनुपर्नेछ।
त्यसरी डिजाइन गरीएको बिलिङ्ग मनिटरीङ्ग सिस्टमले एक मोबाइल अपरेटरको भ्वाइसमा कम्तिमा ५ वटा फरक फरक ट्यारिफ, डाटामा कम्तिमा ५ फरक फरक ट्यारिफ र कम्तिमा एसएमएसतर्फ २ वटा रेटहरु परीक्षण गर्न सक्ने हुनुपर्नेछ।
यस बाहेक इन्टर अपरेटर सिस्टमअन्तरगतको सेवा शुल्कको समेत अनुगमन गर्न सक्ने हुनुपर्नेछ।
हरेक महिना भ्वाइस, डाटा, एसएमएस, भीएएसलगायत सेवाको बिलिङ मिटरको अडिट तयार गर्नुपर्नेछ र एउटा सेवा प्रदायकको परीक्षणपश्चात् अर्को सेवाप्रदायकको परीक्षण सुरु गर्नुपर्ने किसिमको सिस्टम तयार हुनुपर्नेछ ।
परामर्शदाता संस्थाले प्राधिकरणलाई बिलिङ्ग अडिट सिस्टम सेवा उपलब्ध गराउनुपर्नेछ र त्यसको अन्य जिम्मेवारी सोही संस्थाको हुनेछ ।
हाल प्राधिकरणले पल्स रेट र ट्यारिफ रेट निर्धारण गर्दै आएको छ। नेपालमा १० सेकण्डलाई एक पल्सका रुपमा आधार मानेर सेवाग्राहीलाई शुल्क तोकिने गरेकोछ।
दूरसञ्चार ऐन २०५३ अनुसार सेवाप्रदायकले सेवाबापतको शुल्क प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ। प्राधिकरणबाट स्वीकृत गराए पनि सेवाप्रदायकले भ्वाइस, डाटा, एसएमएस, भासलगायतका सेवामा तोकिएकोभन्दा बढी शुल्क लिइरहेको ग्राहकको गुनासो आउने गरेको छ।
प्राधिकरणले यस्तो सिस्टम सेवा लिनका लागि चालु आवको बजेटमा नै ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
प्रकाशित: १४ पुष २०७८, बुधबार