कति आए नेपालमा स्मार्ट कार्ड र रिचार्ज कार्ड, के केमा प्रयोग हुन्छ?

  • Technology Khabar | १४ पुष २०७८, बुधबार
कति आए नेपालमा स्मार्ट कार्ड र रिचार्ज कार्ड, के केमा प्रयोग हुन्छ?

काठमाडौं ।

आर्थिक वर्ष २०७८/७९ को शुरुवाती ५ महिनामा नेपालमा २७ करोड २८ लाख ५ हजार रुपैयाँ बराबरका स्मार्ट तथा रिचार्ज कार्ड आयात गरिएका छन्।

भन्सार विभागको आर्थिक वर्ष २०७८/७९ मंसिर मसान्तसम्मको प्रतिवेदनमा माथि उल्लिखित रकम बराबरको ६९ लाख २२ हजार ४९५ थान स्मार्ट कार्ड तथा ४६ हजार ३२२ किलोग्राम रिचार्ज कार्ड आयात भएका हुन्।

सामान्यतया स्मार्ट कार्डमा हामीले प्रयोग गर्ने बैंकका डेबिट, क्रेडिट कार्डलगायत चिप प्रयोग भएका अन्य कार्डहरु पर्दछन्।

यस्ता कार्डहरु बैंक तथा वित्तीय संस्थाले बढी प्रयोग गर्छन् भने विदेशबाट आउँदा थान गन्ती सहित आउने गर्दछ।

यस्तै रिचार्ज कार्ड भन्नाले हामीले मोबाइल तथा टेलिभिजनका साथै इन्टरनेट प्रयोग गरेबापत् टप अप गर्ने सुविधा भएका सेवाहरुमा प्रयोग गर्ने गर्दछाैं। यस्ता कार्डहरु सेक्युरिटी प्रिन्टिङ अर्थात् सुरक्षण मुद्रण अन्तर्गत पर्ने र नेपालमा त्यसको व्यवस्था नभएकाले कम्पनीहरुले आफ्नो आवश्यकताअनुसार भारत तथा चीनजस्ता देशमा छपाउने गरेका छन्।

यो आर्थिक वर्षको शुरुवाती पाँच महिनामा नेपाल भित्रिएका ६९ लाख २२ हजार ४९५ स्मार्ट कार्डमध्ये सबैभन्दा धेरै भारतबाट ६ करोड ३६ हजार बराबरको २८ लाख ८ हजार १८५ थान,  चीनबाट ३ करोड ७४ लाख ८८ हजार रुपैयाँ बराबरको २५ लाख २० हजार ६९७ थान आयात भएको पाइएको छ।

यसैगरी मेक्सिकोबाट ४ लाख ५० हजार बराबरको ४९ हजार ५००, कतारबाट ६१ हजार बराबरको २० हजार १, १४ करोड ७२ लाख ९ हजार बराबरको १४ लाख ४३१ थान, इन्डोनेशियाबाट २६ लाख ९६ हजार बराबरको १ लाख थान, यूएईबाट ७ लाख २५ हजार बराबरको १४ हजार २५२ थान, बेलायतबाट १ लाख ५२ ४ हजार ५०७ र चेक रिपब्लिकबाट ७९ हजार रुपैयाँ बराबरको ४ हजार ८ सय थान स्मार्टकार्ड भित्रिएको विभागको तथ्याङ्क छ।

यसबाहेक विश्वका अन्य २० भन्दा बढी देशबाट १ हजारदेखि २२ हजारसम्मका १ थानदेखि ४७ थानसम्म फुटकर स्मार्ट कार्ड आयात भएको देखिएको छ।

उता रिचार्ज कार्डतर्फ भने यो अवधिमा नेपाल भित्रिएको २ करोड ३६ लाख २६ हजार बराबरको समग्र ४६ हजार ३२२ किलोग्राम नै भारतबाट मात्र आयात भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: १४ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...