
काठमाडौं ।
सन नेपाल लाइफ इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच सम्झौता भएको छ। कम्पनीका विभिन्न भुक्तानी सम्बन्धी कारोबारहरुलाई स्वचालित रुपमा हुनेगरी एनसीएचएलको एनपीआईमा आवद्ध हुनका लागि उक्त सम्झौता भएको हो।
सम्झौता पत्रमा सन नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता अन्तरगत सन नेपाल लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस एनपीआइसँग जोडी उपलब्ध विभिन्न भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा खर्चको कारोबारहरु स्वचालित रुपमा गर्नसक्नेछन्।
एनपीआईमा जोडिएपछि सन नेपाल लाइफका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने बताईएको छ।
उक्त प्रणाली मार्फत सन नेपाल लाइफले आफ्नो बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछन्।
यसले लाभग्राहीले कम्पनीबाट भुक्तानी प्राप्त गर्न कम्पनी नै पुग्नु पर्ने वा चेक लिनु पर्ने व्यवस्थाको पनि अन्त्य भई भुक्तानी सोझै आफ्नो बैंक वित्तिय संस्थाको खातामा प्राप्त गर्न सक्नेछन्। साथै सन नेपाल लाइफले आफ्ना विभिन्न खाताहरुमा रहेको रकमलाई समेत सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्याउने बताईएको छ।
सन नेपाल लाइफका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइन मार्फत कनेक्ट आईपीएसबाट, बैंक शाखाहरुबाट वा सदस्य बैंक/वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानलमार्फत सजिलै तिर्न सक्नेछन्। यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुने कम्पनीले जनाएको छ।
प्रकाशित: १३ पुष २०७८, मंगलवार