
काठमाडौं ।
धनगढीको एक्सिस विद्याश्रमका विद्यार्थीहरूले विद्युतीय कार निर्माण गरेका छन्। लामो समयदेखि अनुसन्धानका क्रममा रहेका विद्यार्थीहरूले कवाड सामग्री बटुलेर विद्युतीय कार निर्माण गरेका हुन्।
कक्षा १० मा अध्ययनरत चार जनाले निर्माण गरेको विद्युतीय कारलाई ‘सारअल्फा’ नाम दिएका छन्। उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन्।
झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत १ लाख ५० हजार रुपैयाँ रहेको विद्यार्थीहरुले बताएका छन् ।
कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताए। चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन्।
विद्युतीय कार निर्माणका लागि चाहिने सामग्री कवाडी पसलबाट किनेर ल्याउनुका साथै चाहिने अन्य सामग्री आफैं निर्माण गरेको विद्यार्थी आदित्य जोशीले बताए।
अर्का विद्यार्थी ऋषिकेशले भने, “अध्ययन सँगसँगै आफूहरुको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौं ।”
सो गाडीमा चालकसहित पाँच जना बोक्न सक्ने क्षमता छ भने ८ क्विन्टल सामाग्री बोक्न सक्ने बताईएको छ। उनीहरुका अनुसार सो कार हाल ७० किलोमिटरसम्म दौड्न सक्दछ।
प्रकाशित: ११ पुष २०७८, आईतवार