प्रविधिमैत्री विद्यालय प्राथमिकतामा

  • Technology Khabar | १० पुष २०७८, शनिबार
प्रविधिमैत्री विद्यालय प्राथमिकतामा

काठमाडौं ।

तनहुँको व्यास नगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन प्राथमिकता दिएको छ ।

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाई विद्यार्थीको आकर्षण बढाउन प्राथमिकता दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। पढाइलाई प्रभावकारी बनाउन, समय सुहाउँदो एवं हालका बालबालिकाको रुचिअनुसार शिक्षा प्रदान गर्न सहज बनाउन विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

प्रविधिमैत्री बनाउन विद्यालयलाई ई–लाइब्रेरी, आइसिटी, साइन्स ल्याब र किड्स खरिदका लागि रकम उपलब्ध गराउने निर्णय गरेको व्यास नगरपालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए। शिक्षा तथा सामाजिक विकास शाखाको सिफारिस बमोजिम विद्यालयलाई उक्त सामग्री खरिद गर्न सङ्घीय बजेटअन्तर्गतको रकम उपलब्ध गराइने उनले बताए।

चार विद्यालयलाई ई–लाइब्रेरी, तीनवटा विद्यालयलाई आइसिटी, तीन विद्यालयलाई साइन्स ल्याब सञ्चालनका लागि प्रति विद्यालय ६ लाख ५० हजार रुपियाँका दरले रकम दिने निर्णय भएको व्यास नगरपालिकाले जनाएको छ।

सोही बैठकले पाँचवटा विद्यालयलाई विद्यालय सामग्री (किड्स) खरिद गर्न ५० हजार रुपियाँका दरले रकम दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख नगेन्द्र रग्मीले जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: १० पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार