
काठमाडौं ।
छोटो भिडियो सेयरिङ्ग एप टिकटक २०२१ मा विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट बनेको छ। टिकटकले युट्युब, फेसबुकलगायत धेरै लोकप्रिय सोशल मिडिया प्लेटफर्महरूलाई उछिनेको छ।
क्लाउडफ्लेयरकोरिपोर्ट अनुसार टिकटक डटकमले गत वर्षको तुलनामा आफ्नो कार्यसम्पादनमा सुधार गरेको छ। छोटो भिडियो सिर्जना र सेयर गर्ने प्लेटफर्म २०२० मा दोस्रो नम्बरमा थियो। योसँगै गुगल डटकम, फेसबुक डटकम, माइक्रोसफ्ट डटकम र एप्पल डटकम क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।
क्लाउडफ्लेयरको रिपोर्टअनुसार, टिकटकले फेब्रुअरी २०२१ मा पहिलो स्थान लिएको थियो। यस पछि, यो वेबसाइट अगस्त २०२१ सम्म पहिलो स्थानमा रह्यो। तर, यसपछि गुगल डट कमले यसलाई उछिन्यो।
रिपोर्टका अनुसार २०२१ मा अधिकांश समय टिकटक पहिलो स्थानमा रह्यो। गत वर्षको अन्त्यमा, टिकटक डटकम सातौं स्थानमा थियो।
आफ्नो ब्लग पोस्टमा, क्लाउडफ्लेयरले ई-कमर्स वेबसाइट अमेजन डटकम छैटौं स्थानमा रहेको उल्लेख गरेको छ। जबकि नेटफ्लिक्स डटकम, युट्युब डटकम, ट्विटर डटकम र ह्वाट्सएप डटकम क्रमशः सातौं, आठौं, नवौं र दशौं स्थानमा छन्।
टिकटक बाहेक अन्य कम्पनीहरुको स्थान सूचीमा यो वर्ष घटेको छ भने २०२० मा टप टेनमा रहेको इन्स्टाग्राम सूचीबाट बाहिरीएको छ।
प्रकाशित: ९ पुष २०७८, शुक्रबार