
काठमाडौं ।
नेपालमा आगामी निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ। अहिलेको डिजिटल युगमा नेपाल र नेपालबाहिर भएका नेपाली नागरिकको मतलाई समेट्ने गरी विद्युतीय मतदानको तयारी थालिएको हो।
निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा जारी महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले सो जानकारी दिए। उनले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताए। उनका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ ।
विदेशमा करिब ४० लाख जनसङ्ख्या नेपाली नागरिक छन् । यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशस्थित कूटनीतिक निकायमार्फत सङ्कलन गरिएको छ । ‘कोही नछुटोस् कोही नदोहोरियोस्’ भन्ने नीति यस वर्ष निर्वाचन आयोगले अङ्गीकार गर्दै त्यसलाई निरन्तरता दिन विद्युतीय मतदानको अभ्यासलाई प्राथमिकता दिन खोजिएको हो।
नेपालमा स्थानीय तहको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ। विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताए।
नेपालमा विद्युतीय मतदानको राम्रो अभ्यास नभएकाले विविध खालका चुनौती रहेको दुवाडीले प्रस्ट पारे। उनका अनुसार डिजिटल मतदानका लागि नेपालमा रोबस्ट प्रणाली नहुनु, कमजोर सुरक्षा प्रणाली, ह्याकिङको उच्च जोखिम, सङ्कलित तथ्यहरूको सुरक्षामा चुनौतीलगायतका व्यवस्थापनगत चुनौती विद्युतीय मतदानका समयमा आउन सक्ने औँल्याइएको छ। गोरखापत्रबाट
प्रकाशित: ९ पुष २०७८, शुक्रबार