आवाजमा आधारित आईभीआर प्रविधिमार्फत् सेवा प्रवाह गर्दै ‘भक्सक्रो’

  • Technology Khabar | ९ पुष २०७८, शुक्रबार
आवाजमा आधारित आईभीआर प्रविधिमार्फत् सेवा प्रवाह गर्दै ‘भक्सक्रो’

काठमाडौं ।

-साजन सुवेदी

भक्सक्रो नामक प्रविधि संस्थाले नेपालमा भ्वाइस बेस्ड अर्थात् आवाजमा आधारित सेवाहरु प्रदान गर्दै आएको छ।

काठमाडाैंको बालुवाटारमा कार्यालय रहेको यो संस्थाले हाल कल सेन्टरहरुका लागि आवश्यक गेटडेस्क तथा ब्लेजन नामक सफ्टवेयर बनाएर यो क्षेत्रमा विदेशबाट ठूलो रकम तिरेर सफ्टवेयर आयात गर्नुपर्ने बाध्यातालाई कम गर्ने प्रयासमा लागेको छ।

सन् २०१८ मा फरक फरक क्षेत्रमा काम गरिरहेका सुशान्त राई र दिपेश रेग्मी मिलेर शुरु गरेको यो परियोजनाको मुख्य उद्देश्य एकै पटकमा धेरै भन्दा धेरै व्यक्तिसम्म निश्चित सन्देश आवाजको रुपमा पुर्याउनु रहेको कम्पनीका सीईओ सुशान्त राईको भनाइ छ।

विशेषगरी साक्षर तथा निरक्षर सबैको सहभागिता हुने र बोलिएका कुरा लेखिएका मेसेजभन्दा प्रस्ट रुपमा बुझ्न सकिने भएकाले बोलीमा आधारित सेवाहरु नेपालजस्तो भोगोलिक अवस्था र साक्षरताका भएको देशका लागि उपयुक्त हुने ठानेर यो क्षेत्रमा अघि बढेको संस्थापकद्वयको भनाइ छ।

यसरी भयो शुरुवात

संस्थापकद्वय दिपेश रेग्मी र सुशान्त राई, क्रमश: गैर सरकारी संस्थाको प्रशासन र कानून तथा सूचना प्रविधि विभागमा काम गर्ने भएकाले यो क्षेत्रको विभिन्न प्रयोजनका लागि सफ्टवेयर प्रभावकारी हुन सक्ने निर्क्योल भयो।

शुरुमा डेढ वर्षजति विभिन्न संस्थाहरुलाई डिजिटल कम्युनिकेशनका हिसाबले कल सेन्टरको सुविधा उपलब्ध गराएपछि गैर सरकारी संस्थाको फिल्ड सर्भे गर्ने टूलका रुपमा आईभीआर अर्थात् आवाजमा आधारित सफ्टवेयर बनाउने निधो भयो।

आफ्ना आइडिया लिएर विभिन्न संस्थाहरुमा पुग्ने क्रममा केयर नेपालले प्रस्ताव गरेर सबै संयन्त्र बनाउन आग्रह गरेसँगै आईभीआर प्रविधिमा आधारित सफ्टवेयरको आधिकारिक शुरुवात भएको संस्थापक तथा सीई‌ओ राईको भनाइ छ।

नामको अर्थ

सामान्यतया भक्सक्रोमा प्रयोग भएका दुई ओटा शब्द भक्स र क्रो क्रमश: ल्याटिन र अंग्रेजी भाषाबाट लिइएका हुन्। जसमा भक्सको अर्थ आवाज वा बोली तथा क्रो को अर्थ काग अथवा काैवा भन्ने लाग्दछ।

संस्थापक रेग्मीका अनुसार कागलाई चरामध्येको सबैभन्दा बुझ्झकी र नेपाली समाजमा खबर ल्याउने दूत (messenger) रुपमा मानिने भएकाले आवाजका माध्यमबाट सन्देश वा खबर पुर्याउन सघाउने संस्थाको नाम भक्सक्रो राख्ने सहमति जुटेको हो।

भ्वाइमा आधारित सेवा नै किन त?

लेखेका मेसेज (सन्देश) नेपाली वा अंग्रेजीमा हुने र नेपाल भाषा र संस्कृतिका हिसाबले निकै विविधतायुकत भएकाले सबैलाई उपयुक्त हुने देखिएन। यसको एक मात्र विकल्प आवाज वा बोली देखियो।

आफ्नै आवाज, भाषा तथा लवजमा बोलेर रेकर्ड गराउन मिल्ने भएकाले फरक फरक भाषाभाषी भएका ठाउँका लागि त्यहीँको लवजमा सन्देश दिन पाएको खण्डमा दिएको सन्देश सही रुपमा पुर्याउन सकिने देखिएकाले भ्वाइस बेस्ड अर्थात् आवाजमा आधारित सेवा शुरु गर्ने प्रेरणा मिलेको संस्थाका अर्का संस्थापक दिपेश रेग्मी बताउँछन्।

स्वास्थ्य र शिक्षामा बढी केन्द्रित

ग्रामीण भेगमा अस्पताल र स्वास्थ्यचाैकीको अभावका साथै जनचेतनाको पनि कमी हुने देखिएकाले शुरुमा आईभीआरमार्फत् गर्भवती महिलाको खानपान र हेरविचारसम्बन्धी कार्यक्रम चलाएर निश्चित सही उत्तर मिलाएमा फोन रिचार्ज गरिदिने लगायतको सेवा शुरु गरेको र अब पनि यी क्षेत्रमा आफ्ना सफ्टवेयरमार्फत् सेवा प्रदान गर्न तत्पर रहेको उनको भनाइ छ।

यसै क्रममा पत्रकार महासंघ तथा कांग्रेस महाधिवेशनको बेला  आग्रह आएकाले उपलब्ध गराइएको डाटाबेसका आधारमा मत माग्नका लागि सेवा सञ्चालन गर्दा सकारात्मक प्रतिक्रिया आएको रेग्मी थप्छन्।

लकडाउनको भूमिका सकारात्मक

कोरोना महामारी र लकडाउनले अर्थतन्त्र र अन्य धेरै क्षेत्रलाई तहसनहस बनाए पनि सूचना प्रविधि तथा भक्सक्रो जस्ता सेवा प्रदायकलाई भने निकै सघाउ पुर्यायो।

                         भक्सक्रोले निर्माण गरेको गेटडेस्क सफ्टवेयरको झलक

लकडाउनका बेला ग्रामीण भेगहरुमा शिक्षासम्बन्धी कार्यक्रम पुर्याउने उपायका बारेमा थुप्रै गैर सरकारी संस्थाबाट सोधपूछ भएपछि यो सफ्टवेयर बनाउनमा थप मद्दत र हाैसला भयो।

यसै क्रममा सेभ द चिल्ड्रेन तथा स्वास्थ्य मनत्रालयको सहकार्यमा राजेश हमाललगायत कलाकारको आवाज राखेर मास्क खै? भन्ने अभियान चलाइयो।

भविष्यको योजना

दुवै संस्थापक भविष्यमा आफूहरु गेटडेस्क र ब्लेजनलगायत अन्य उपयोगी सफ्टवेयरहरु बनाएर त्यसैलाई बिक्री गर्ने योजना रहेको बताउँछन्।

                             भक्सक्रोले निर्माण गरेको ब्लेजन सफ्टवेयरको लोगो

उनीहरुका अनुसार अहिले कार्यालयले गरिरहेको कन्टेन्ट अपलोडलगायतका कामहरुलाई केही समय निरन्तरता दिने र तालिमका माध्यमबाट आवश्यक जनशक्ति तयार गरेपछि भने सफ्टवेयर निर्माण, बिक्रीपछिको प्राविधिक सेवा र समस्या समाधानमा बढी केन्द्रित हुने लक्ष्य रहेको छ।

कानूनी प्रावधान

नेपालमा धेरै र नचिनेका व्यक्तिहरुलाई उनीहरुको संलग्नता वा इजाजतविना एसएमएस वा फोन गरेर प्रबर्द्धनात्मक सामग्री प्रसारण गर्नु गैरकानूनी हुने प्रावधान छ।

यस्तोमा भक्सक्रोले भने कुनै पनि सेवा भ्वाइस मेसेज दिन चाहने संस्थाले उपलब्ध गराएको फोन नम्बरमा मात्र यस्ता मेसेजहरु पठाइदिने गरेको छ।

संस्थापकद्वयमध्ये रेग्मी आफैं कानूनका विद्यार्थी भएकाले नेपालमा प्रचलित कानूनको बर्खिलाफ हुने कुनै पनि कामले संस्थाको छवि नै धमिल्याउने हुनाले आफूहरुले कानून तथा नीतिनियमभित्रै रहेर काम गर्ने गरेको बताउँछन्।

प्रतिस्पर्धा र चुनाैती

नेपालमा अन्य देशमा बनेका तयारी सफ्टवेयर ल्याएर यस्ता सेवा प्रदान गर्ने कम्पनीहरु पनि नभएका होइनन्।

तर भक्सक्रोले आफैंले बनाएको सफ्टवेयर र विदेशबाट ल्याएका तयारी सफ्टवेयरमा केही उल्लेख्य भिन्नताहरु छन्।

विदेशबाट सफ्टवेयर ल्याउँदा डलर रकम बाहिरिने र उनीहरुका सफ्टवेयरमा यहाँको आवश्यकता अनुसार केही सुविधा थपघट गर्नुपरेमा निकै महँगो रकम तिर्नुपर्ने सीईओ राईको भनाइ छ।

यस्तोमा भक्सक्रोले आफ्नै जनशक्तिद्वारा यहाँको माटो सुहाउँदो र आवश्यक माग सम्बोधन गर्नेगरी सफ्टवेयर बनाएकाले सेवा सुविधा थपघटको स्थिति आइनपर्ने र आएको खन्डमा पनि स्वदेशी डेभलपरसँग काम गर्दा धेरै रकम विदेशिने डर पनि नरहने कम्पनीको भनाइ छ।

रोजगारी सिर्जना

कम्पनीले देशभित्रका विभिन्न नाम चलेका अस्पताल, कर्पोरेट हाउसलगायतमा आफ्ना सफ्टवेयरका माध्यमबाट रोजगारीका अवसर पनि सिर्जना गर्दै आएको छ।

सफ्टवेयर डेभलपमेन्टदेखि कल सेन्टरका कर्मचारी र विभिन्न संस्थामा ती सफ्टवेयर चलाउनका लागि आवश्यक जनशक्ति गरी करिव ७०० रोजगारी सिर्जना गरेको कम्पनीको दावी छ।

कल सेन्टर/कस्टमर केयर सफ्टवेयर कत्तिको खर्चिलो छ?

संस्थापकद्वय रेग्मी र राई भन्छन्, ‘दिनमा २०० ओटासम्म फोन आउने संस्थाहरुले शुरुवाती सेटअपका बेला ५० देखि ६० हजार तिरेपछि मासिक ४-५ हजार रुपैयाँमा हाम्रो गेटडेस्क सफ्टवेयरको सेवा लिन सक्छन।’

हालसम्म कसकसले प्रयोग गरिरहेका छन्?

भक्सक्रोको यो सफ्टवेयर हाल नर्भिक अस्पताल, तिलगंगा आँखा केन्द्र, फोन पे, केयर नेपाललगायतका संस्थाहरुले प्रयोग गरिरहेका छन्।

संस्थापक राई भन्छन्, ‘हामीले सेवा दिएका संस्थाहरु सन्तुष्ट रहेको मैले पाएको छु। नर्भिक अस्पतालका अध्यक्ष वसन्त चाैधरीले यो सफ्टवेयर राखेपछि अस्पतालमा फोन उठ्दैन भन्ने गुनासो आउन छोडेको मलाई बताउनुभएको छ।’

यो सेवा प्रयोग गर्ने अन्य संस्थाहरुमा फुडमान्डु, भोज, उपाय सिटी कार्गो, रोजगारी सर्भिसेज, अल्का अस्पताल, बुद्ध एयर, पठाओ, ग्यापु तथा मर्सी कर्प्सलगायतका रहेका छन्।

प्रकाशित: ९ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार