
काठमाडौं ।
सूचना प्रविधिको प्रयोगमा बढोत्तरी गरेर नागरिकलाई सहज रुपमा सेवा सुविधा उपलब्ध गराउन बागमती प्रदेश सरकारले योजनाबद्ध पहल गर्ने भएको छ। इन्टरनेटको विस्तार, सूचना प्रविधिमा भएको विकास तथा नागरिकमा आएको सचेतना एकातिर रहने तर सरकारी काम कारबाही भने पुरानै प्रवृत्तिमा चल्ने अवस्थामा सुधारका लागि प्रदेश सरकारले प्रयत्न गर्न लागेको हो।
सङ्घीय राजधानीसमेत यसै प्रदेशमा रहेकाले नागरिकले सहज रुपमा सेवा पाउने वातावरण बनाउनु महत्वपूर्ण रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रुद्रसिंह तामाङले बताए ।
सञ्चार रजिष्ट्रारको कार्यालयले आज यहाँ आयोजना गरेको ‘सूचना तथा सञ्चार प्रविधिको प्रवद्र्धनमा बागमती प्रदेशको भूमिका सरोकारवालासँगको छलफलमा’ सचिव तामाङले प्रदेशवासीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यका साथ आफूहरुले तयारी गरिरहेको बताए । उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाका साथ मन्त्रालयले योजना तयार पार्ने र त्यसलाई चरणबद्ध रुपमा लागू गरेर नागरिकलाई सहज सेवा प्रदान गर्ने विश्वास दिलाए ।
प्रविधिको प्रयोग, विस्तार तथा लगानीका सन्दर्भमा संविधानमा सङ्घीय सरकार र प्रदेश सरकारको कार्यक्षेत्रका बारेमा स्पष्ट व्यवस्था नभए पनि प्रयास भने गर्नुपर्ने उनले आवश्यकता औँल्याए ।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनालले राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले प्रविधिको प्रयोगका सम्बन्धमा रहेको बुझाइका दायरालाई नै विस्तार गर्नुपर्ने बताए। नागरिकलाई सेवा दिने भन्दा पनि काम गर्न खोज्नेलाई अल्झाउने प्रवृत्तिका कारण समस्या खडा भएको उनको भनाइ छ।
सरकारले तीन वर्ष पहिले डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा अगाडि बढाएको भएपनि त्यो कार्यक्रम अपूरो रहेको तर्क उनले गरे । “आयातित कार्ययोजनाले काम गर्न सक्दैन । काम गर्ने हो भने नेपालको मौलिकताअनुसार सहज रुपमा सेवा दिने गरी काम गर्नुपर्छ,” उनले भने, “हामीले पहिले पूर्वाधार मात्र भनेर नहनुे कानूनी भौतिक आर्थिक पूर्वाधारलगायतका कस्ता पूर्वाधार हुन् भन्ने विषयहरुमा ध्यान दिनुपर्छ।”
त्यसैगरी कार्यक्रममा सूचना प्रविधि विज्ञ मनोहर भट्टराईले डिजिटल बागमती बनाउनका लागि सबैभन्दा पहिले स्पष्ट रणनीतिहरु तयार पार्नुपर्ने सुझाब दिए। उनले एकै पटक डिजिटल भनेर नहुने र त्यसलाई क्रमशः लागू गर्दै जानुपर्ने बताए ।
बागमती प्रदेशका उपसभामुख राधिका तामाङले नागरिकले सहज रुपमा सेवा पाउने गरी सूचना र प्रविधिको क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताईन् । अन्य सामान्य काम कारबाही गर्न बजेट उपलब्ध हुने भए पनि सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न सधैँ बजेटको अभाव देखाउने प्रवृत्तिबाट मुक्त हुनुपर्ने उनको भनाइ छ। बागमती प्रदेशबाट केही नयाँ गरौ भन्ने सोचका साथ छलफल आयोजना गरेकामा सञ्चार रजिष्ट्रार कार्यालयलाई धन्यवाद दिँदै उनले लगानीको विस्तार गरेरै भए पनि सूचना प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने बताईन्।
सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउनका लागि वातावरण तयार गर्ने र सरकारी निकायको ध्यानाकर्षण गराउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए। डिजिटल बागमती बनाउन सबैको साथ र सहयोग जरुरी रहेको उनको भनाइ छ।
कार्यक्रममा अन्य वक्ता तथा सहभागीहरुले डिजिटल बागमतीको अवधारणा राम्रो भएको भन्दै त्यसलाई कार्यान्वयनको चरणमा लान सबैको भूमिका हुने धारणा राखेका थिए । उनीहरुले प्रविधिलाई आत्मसात गरेपनि त्यसलाई सबै निकायहरुमा एकीकृत गर्न नसक्दा समस्याहरु आएकोमा समेत सचेत हुनुपर्ने औंल्याएका थिए।
प्रकाशित: ६ पुष २०७८, मंगलवार