चीनमा चल्न थाले चालकरहित ट्याक्सी

  • Technology Khabar | ६ पुष २०७८, मंगलवार
चीनमा चल्न थाले चालकरहित ट्याक्सी

काठमाडौं ।

चालकरहित सार्वजनिक सवारी सञ्चालन गर्न सकिने विकल्पबारे विश्वव्यापी बहस भइरहेका बेला छिमेकी मुलुक चीनमा चालकरहित ट्याक्सी सञ्चालन हुन थालेको छ।
यसै सातादेखि राजधानी बेइजिङमा व्यवसायिक रुपमा स्वचालित ट्याक्सी गुड्न थालेका हन्। ‘रोबोट्याक्सिज’लाई अन्य सवारीझैं सडकमा गुडाउने अनुमति दिइएको छ।
सरकारले तत्कालका लागि बेइजिङको दक्षिण पूर्वी भेगमा यस्तो ट्याक्सी सेवाका लागि नौ सय वटा कारलाई इजाजत दिएको छ। सेवाग्राहीले सात सयभन्दा बढी स्थानबाट ‘रोबोट्याक्सिज’को सेवा लिन सक्ने बताइएको छ।
चिनियाँ सञ्चार माध्यमहरुका अनुसार एउटा ट्याक्सीमा दुई जना यात्रुले सेवा लिन सक्छन्। झट्ट हेर्दा अन्य यस्ता ट्याक्सी अन्य कारझैं देखिन्छन्।
‘रोबोट्याक्सिज’को मनिटरमा जडान गरिएका उपकरण र सेन्सरले सडकका सवारीको चाप, पैदलयात्रु, आसपासको वातावरण लगायतकाबारे थाहा पाउने बताइएको छ। सेन्सरकै सहयोगमा ट्राफिक लाइट र अन्य क्षेत्रमा ‘रोबोट्याक्सिज’ रोकिने र अघि बढ्ने गर्छन्।
सुरक्षा अनुगमनका लागि ट्याक्सीमा एक सुपरभाइजर रहे पनि चालक आवश्यक नपर्ने दावी गरिएको छ। धेरै चिनियाँ नागरिकले चालकरहित ट्याक्सीको सेवासँग जोडिन चासो लिएका छन्।
गुड्दा गुड्दै एक्कासी ट्याक्सी रोक्नुपर्ने अवस्था आएमा सुरक्षा सुनिश्चितता हुने-नहुनेमा सेवाग्राहीको चासो रहने गरेको चिनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
चिनियाँ सरकारी अधिकारीहरु भने यस्ता अन्यौल र दुविधा हटाउँदै आगामी दिनमा चालकरहित सवारीको संख्या बढ्ने विश्वास व्यक्त गर्छन्।
गत मे पहिलो साता चीनको पहिलो पटक चालकरहित ट्याक्सी सञ्चालनमा आएको थियो।

प्रकाशित: ६ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार