
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष नियोग नासाले आगामी डिसेम्बर २२ मा अन्तरिक्षमा पठाउने भनिएको जेम्स वेब टेलिस्कोपको प्रक्षेपण मिति सरेको छ।
उक्त परियोजनाको आधिकारिक पेजमा नासाले जेम्स वेब टिमले उक्त टेलिस्कोप तथा त्यसलाई प्रक्षेपण गर्ने एरियन ५ यानबीचको सञ्चारमा आइरहेको समस्याको निराकरणका लागि काम गरिरहेको सूचना पोस्ट गरेको छ।
यस हिसाबले हेर्दा यो पहिले तय भएको डिसेम्बर २२ मा मात्र नभइ डिसेम्बर २४ अगाडि प्रक्षेपण हुन नसक्ने बुझिएको छ।
सन् १९९६ मा निर्माण गर्न शुरु गरेयता यो जेम्स वेब परियोजनामा थुप्रै प्रकारका समस्याहरु आइसकेका छन्। यसको बजेट निकै माथि गएको साथै घरीघरी डिजाइनमा ल्याइएका ठूला परिवर्तन लगायतका कारणले यसले सोचेको समय र रकममा पूर्णता पाउन सकेको थिएन।
सन् २०२० मा कोभिडका कारण स्थगित भएको उक्त टेलिस्कोपको प्रक्षेपण गत अक्टोबर १८ मा गर्नका लागि नासाले तयारी थालेको थियो। तर नासा र प्राथमिक ठेक्का कम्पनी नर्थर्प गर्मनले शुरुवाती परीक्षण गरेपछि उक्त टेलिस्कोप यो वर्षको नोभेम्बर वा डिसेम्बर अगाडि प्रक्षेपणका लागि तयार नहुने तय गरिएको थियो।
नासाले यसअघि डिसेम्बर १८ लाई प्रक्षेपण मिति तोकेको थियो जुन पछि डिसेम्बर २२ सम्म धकेलिएको थियो। यसो हुनुको मुख्य कारण उक्त टेलिस्कोपलाई प्रक्षेपण विमानसँग जोडने क्ल्याम्प आफैं फुस्किनु रहेको थियो।
अब भने सबै कुरा सही रुपमा अघि बढेमा छिटोमा आगामी डिसेम्बर २४ मा उक्त टेलिस्कोप प्रक्षेपण हुनेछ।
प्रकाशित: २ पुष २०७८, शुक्रबार