फोहोर फाल्नेको निगरानी अब सीसीटीभीबाट गरिने

  • Technology Khabar | २ पुष २०७८, शुक्रबार
फोहोर फाल्नेको निगरानी अब सीसीटीभीबाट गरिने
सांकेतिक तस्बिर

काठमाडौं ।

बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन ।

बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर थपिएको थपिएकै बताईन्।

यसरी नदी सफाइ गर्ने क्रम जारी रहने र फोहोर नदीमा फाल्ने समस्या निराकरण नहुने भएकाले फोहोर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीटीभी जडान गरिने भएको छ । काठमाडौँ उपत्यकाका सबै नदीमा सीसीटीभीबाट निगरानी गरिने योजना भए पनि पहिलो चरणमा बागमती पुलमा जडान गरिने छ ।

पहिलो चरणमा गोकर्णदेखि टेकुसम्म झोलुङ्गे पुलसहित पक्की पुल ११ वटा र अन्य थुप्रै पैदल यात्रुका लागि मात्र बनाइएका फलामे पुललाई लक्षित गरिएको छ। स्थानीय तह र प्रहरीसँगको समन्वयमा यो कार्य अघि बढाउने गरी अहिले अध्ययन सुरु भएको बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले बताए ।

भविष्यमा बल्खु, कर्मनासा, विष्णुमती, रुद्रमती (धोबी खोला), महादेव खोला धादिङ, गोदावरी, हनुमन्ते र मनोहरामा पनि यो कार्य अघि बढ्ने उनले बताए ।

हाल यी नदीमा पनि सफाइका लागि ढल व्यवस्थापन कार्य भइरहेको छ । यो सफाइ अभियान जनचेतना अभिवृद्वि गर्ने साङ्केतिक अभियान मात्र रहेको बताउँदै अर्यालले नदी किनारामा मानिसको सहज पहुँच नहटाउञ्जेल नदी सफा नहुने भएकोले नदीको पुलमा सीसीटीभी जडान गर्ने कार्य अगाडि बढाइएको बताए ।

फोहोरका पोका नदीमा हुत्याउन नसकिने गरी तटमा हरियाली बाग–बगैँचा निर्माण गर्ने कार्य पनि थालिएको छ ।

उनी भन्छन्, “नदीबाट फोहोर टिप्ने र नदीमा फोहोर फाल्ने सरोवरी भएकोले नदी सफा हुन नसकेको हो । मोटरसाइकल, साइकल र मोटरबाट आएका तथा प्रभातकालीन यात्रामा हिँडेकाले नदीमा एकाबिहानै फोहोर फाल्ने गरेको छन्।”

सीसीटीभी अभियानका लागि समितिले स्थानीय तहको साथ खोजेको छ । प्रवक्ता अर्यालका अनुसार आर्थिक स्रोत स्थानीय तह र समितितर्फबाट हुनसक्छ भन्ने सोच समितिको रहेको छ ।

“फोहोर फाल्नेलाई दण्ड र कारबाही गर्ने अधिकार समितिलाई नभएको हुँदा स्थानीय तह यसमा संवेदनशील हुनु आवश्यक छ,” उनले भने । बागमती सफाइ योजनाको सुरुवातसँगै २७ वर्षको अवधिमा १४ अर्ब ४२ करोड रुपियाँ खर्च भइसकेको प्रवक्ता अर्यालले जानकारी दिए ।

नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले नदीलगायत सार्वजनिक स्थलमा फोहोर फाल्नेउपर मोबाइल फोनबाट फोटो खिचेर उजुरी दिन अनुरोध गरेका छन् ।

२७औँ महानगरपालिका दिवसको सन्दर्भमा महानगर प्रहरीले शरीरमा धारण गर्ने बडी ज्वाइन क्यामरा बुधबारदेखि जडान गरेर नगर प्रहरी फिल्डमा खटिएको उनले बताए । उनकाअनुसार नगर प्रहरी महाशाखाको कक्षबाट यसमा खिचिएका फोटोको अनुगमन गर्ने व्यवस्था गरिएको छ । गोरखापत्रबाट

प्रकाशित: २ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार