आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनालेमा १२ विधामा अवार्ड प्रदान गरिँदै

  • Technology Khabar | २९ मंसिर २०७८, बुधबार
आइसिटी अवार्ड २०२१ को ग्राण्ड फिनालेमा १२ विधामा अवार्ड प्रदान गरिँदै

काठमाडौं ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रवार द सोल्टी काठमाडौंमा आयोजना हुँदैछ। छैटौं संस्करणको आइसिटी अवार्डमा १२ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। यस वर्ष अवार्डको लागि ४०० बढिको अनलाइन आवेदन प्राप्त भएको र ४ महिना अवधिसम्म छनौट प्रक्रिया सञ्चालन भएको छ।

एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ विधाहरू समावेश भएका छन् । यी विधाहरूमा १५० बढीको आवेदन प्राप्त भएको थियो। विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ५ को पब्लिक भोटिङ पनि सञ्चालन गरिएको थियो।

व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड विधाहरू रहेका छन्। यी विधाहरूमा १०० बढिको नोमिनेशन प्राप्त भएको थियो।

संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड विधाहरू समावेश छन् । यी विधाहरूमा १५० बढीको नोमिनेशन प्राप्त भएको र विभिन्न चरणको छनौट पश्चात् उत्कृष्ट ३ को छनौट भएको अवार्ड जुरी समितिका मुख्य संयोजक हेमपाल श्रेष्ठले जानकारी दिएका छन्।

आइसिटी अवार्ड २०२१ मा लगभग ६ महिनाको तयारी सम्पन्न भएको आयोजक समितिका संयोजक राजन लम्सालले बताए । हरेक पक्षबाट अवार्डलाई सर्वोत्कृष्ट बनाउनको लागि जुरी, सल्लाहकार लगायत सबैले उत्तिकै मेहनत गरेको उनको भनाइ छ।

ग्राण्ड फिनालेको लागि आयोजकले सम्पूर्ण तयारी पूरा गरेको र निमन्त्रणादेखि नै प्रविधिको अधिकतम प्रयोग गरिएको आयोजकले जनाएको छ । छनौट प्रक्रियामा समेत हरेक जुरीलाई ओटिपी पठाएर इन्डिपेन्डेन्ट रूपमा भोट लिइएको छ।

अवार्डको लागि २५ भन्दा बढि जुरी मिटिङ सम्पन्न भएका छन् । १५ जना विशिष्ट सल्लाहकारहरू रहेको आइसिटी अवाडले नेपालको डिजिटल इकोसिस्टमको महत्वपूर्ण आधार तयार पारिरहेको नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले बताए। आइसिटी अवार्डको महत्वपूर्ण पक्ष यसको छनौट प्रक्रिया रहेको र यसमा सुरुवातदेखि नै विशेष ध्यान दिइएको जुरी सदस्य सुवास ढकालले जनाए । आइसिटी अवार्ड पछिल्लो समय नेपालको आइसिटी क्षेत्रको लागि महत्वपूर्ण प्लाटफर्मको रुपमा विकास भइरहेको जुरी नरोत्तम अर्यालको भनाइ छ।

अवार्डको सिलसिलामा यस वर्ष स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट, मेन्टरिङ सेसन, पूर्वविजेता र अहिलेका प्रतिस्पर्धीको स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङहरू सञ्चालन भएका छन् ।

यस्ता छन् उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट तथा राइजिङ स्टार इन्नोभेसनहरू

विभिन्न चरणको छनौट पश्चात उत्कृष्ट ५ स्टार्टअप कम्पनीहरू डुलुवा एक्सपेडिसन्स प्रा.लि, हाउस अफ बुक्स प्रा.लि, खेती भेन्चर प्रा.लि, निर्वाण साथी टेक्नोभेसन प्रा.लि र पुर्याउ सर्भिसेस प्रा.लि रहेका छन् ।

प्रडक्ट आइसिटी अवार्ड २०२१ को लागि उत्कृष्ट ५ मा छनौट भएका प्रडक्टहरूमा बगभी, आइएमएस डिस्ट्रिब्युसन म्यानेजमेन्ट सिस्टम, मिखा, प्लान्टस्याट र सायक रहेका छन् ।

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२१ को लागि छनौट भएका उत्कृष्ट ५ इन्नोभेसनहरूमा आक्स माट्ररव, आइओटी ब्यास्ड इकोनोमिकल एयर प्युरिफायर फर द ग्लोबल साउथ, मुसोर, ओपन पास्टपेपर र रेन्ट अ बाइक रहेका छन् ।

यी मध्ये शुक्रवारको ग्राण्ड फिनालेमा हरेक विधामा एक सर्वोत्कृष्ट घोषणा गरिने आयोजकले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार