गुगलले खोप नलगाएका कर्मचारीहरुलाई जागिरबाट निकाल्ने चेतावनी

  • Technology Khabar | २९ मंसिर २०७८, बुधबार
गुगलले खोप नलगाएका कर्मचारीहरुलाई जागिरबाट निकाल्ने चेतावनी

काठमाडौं ।

गुगलले आफ्ना कर्मचारीहरूलाई कम्पनीको कोभिड-१९ खोप नीतिको पालना नगरेमा तलब गुमाउने र बर्खास्त गरिनेसम्मको चेतावनी दिएको छ।

कम्पनीले कोभिड विरुद्धको खोप नलाएका गुगलका कर्मचारीहरूलाई जबरजस्ती बिदामा राख्न सकिने र यदि तिनीहरूले कोभिड-१९ नियमहरू पालना गर्न असफल भएमा कम्पनीबाट निकाल्न सकिने सीएनबीसीले आन्तरिक मेमोलाई उदृत गर्दै रिपोर्ट गरेको छ।

यसअघि नै कम्पनीले आफ्ना कर्मचारीहरुलाई खोप लगाउन र सो बारेमा जानकारी अपलोड गर्न निर्देशन दिएको थियो।

सो नीतिले कर्मचारीहरूलाई असर गर्नेछ जुन अमेरिकि राष्ट्रपति जो बाइडेनको खोप जनादेशको क्षेत्राधिकार अन्तर्गत पर्ने थियो, जुन हाल सिनेट र अदालत प्रणालीमा चुनौतीहरूको सामना गरिरहेको छ।

मेमो अनुसार, गुगलले आफ्ना कर्मचारीहरूलाई खोपको प्रमाण अपलोड गर्न वा चिकित्सा वा धार्मिक छुटको लागि स्वीकृति प्राप्त गर्न डिसेम्बर ३ सम्मको समय दिएको थियो। तर जनवरी १३ सम्म यी मध्ये कुनै पनि काम नगर्नेलाई ३० दिनको सशुल्क प्रशासनिक बिदामा राखिने कम्पनीले जनाएको छ।

यदि तिनीहरूले अझै ३० दिनपछि पनि नयाँ नीतिहरु पालना गर्दैनन् भने, तिनीहरूले ६ महिनासम्म बेतलबी बिदाको सामना गर्न सक्छन् र त्यसपछि जागिरबाट निकाल्न सकिने चेतावनी दिएको हो।

अमेरिकी बाइडेन प्रशासनले १०० भन्दा धेरै कर्मचारी राख्ने र अमेरिकी सरकारसँग काम गर्ने कम्पनीहरुका कर्मचारीहरुले अनिवार्यरुपमा भ्याक्सिन लगाउनुपर्ने आदेश जारी गरेको थियो।

गुगलले आफ्ना कर्मचारीहरुलाई भौतिकरुपमा फर्काउने योजना गरिरहेको बेलामा नयाँ कोभिड भेरिएन्ट ओमिक्रोन आएसँगै समयावधि पछाडी धकेलेको छ। तर कार्यालयमा आउने कर्मचारीले भने अनिवार्यरुपमा खोप लगाएको हुनुपर्ने नियम लागू गरेको छ।

प्रकाशित: २९ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार