
काठमाडौं ।
बदेखि अनलाइनबाटै भन्सारको राजस्व भुक्तानी गर्न सकिने भएको छ। भन्सार विभागले बिहीबारदेखि वीरगञ्जस्थित सुक्खा बन्दरगाह हुँदै हुने आयात निर्यातबापतको भन्सार शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गर्न लागेको हो।
आयात तथा निर्यात हुने वस्तुमा लाग्ने सरकारी दस्तुर व्यापारीले घरमै बसेर तिर्न सक्ने गरी अनलाइन प्रणालीमा आधारित डिजिटल प्रणालीको परीक्षण शुरु गर्न लागेको बताईएको छ।
नेपाल राष्ट्र बैङ्कसमेतको लगानी गरेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)मार्फत सेवाग्राहीले भन्सार राजस्व भुक्तानी गर्न सक्ने वीरगञ्जस्थित प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए।
हाल अनलाइन र नगद भुक्तानीमार्फत व्यावसायीले राजस्व दाखिला गर्दै आएका छन्। भन्सार प्रणाली व्यवस्थापनमा प्रयोग भइरहेको ‘आसिकुडा वर्ल्ड’ को मापदण्डअनुसार विभागले राजस्व निर्धारण गर्ने र प्रणाली मै जोडिएको भुक्तानी प्रणालीमार्फत नगदरहित सञ्चालनमा आउने छन् ।
यसरी निर्धारण गरिएको राजस्वलाई महालेखा नियन्त्रक कार्यालयमार्फत प्रतिवेदन तयार गरेर अर्को कार्यदिनमा राष्ट्र बैंक हुँदै रेभिन्यु म्यानेजमेन्ट इन्फरमेसन सिष्टम (रिम्स)मा पठाउने गरिन्छ।
नयाँ व्यवस्थाअनुसार रिम्स प्रणालीमा वास्तविक समयमै अद्यावधिक हुनेगरी राजस्व भुक्तानी प्रणाली सञ्चालन गर्न लागिएको हो ।
पौडेलका अनुसार नगदरहित सेवाका लागि महालेखा, अर्थ, आन्तरिक राजस्व र बैङ्कहरूलाई एकीकृत गरेर भुक्तानी प्रणाली तयार गरिएको छ ।
वीरगञ्जस्थित एकीकृत भन्सार जाँच–चौकी (आईसीपी)मा व्यवसायीले विदेशबाट आयात गरेर ल्याएका सामानको एकद्वार प्रणालीमा जाँच लागू भएको छ।
विभागले आगामी माघदेखि देशभरिका सबै ठूला भन्सार कार्यालयमा गरिने राजस्व भुक्तानीलाई पनि अनलाइनबाटै गर्न सकिने बनाउने भएको छ। त्यसका लागि अहिले परीक्षणका रूपमा वीरगञ्जस्थित कार्यालयबाट सुरु गर्न लागिएको हो ।
विभागकाअनुसार पहिलो चरणमा पर्साको वीरगञ्जस्थित सिसिर्या सुख्खा बन्दरगाहमा पुस १ गतेबाट र माघ १ गतेदेखि सबै भन्सारमा यो सेवा शुरु हुनेछ।
प्रकाशित: २९ मंसिर २०७८, बुधबार