
काठमाडौं ।
बागलुङको बडीगाड गाउँपालिका वडा नं. ४ जलजला र वडा नं. ८ रणसिंहकिटेनीका बासिन्दाले विगत दस वर्षदेखि मोबाइल सेवा लिँदै आएका थिए। फोन सेवा लिएको दस वर्षपछि स्थानीयले उच्च गतिको फोरजी सेवा पाएका छन्।
नेपाल टेलिकमले दुई वडाको सङ्गम स्थल बेतथलाको धुरीमा २५ मिटर अग्लो स्थायी टावर निर्माण गरेर फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए।
रणसिंहकिटेनी जिल्ला सदरमुकामदेखि २८ कोस टाढा पर्छ। टेलिकमले सो स्थानमा २०६७ जेठ महिनादेखि पहिलो पटक टूजी र २०७७ सालमा थ्रीजी सेवा विस्तार गरेको थियो।
नेपाल टेलिकमका सेवाग्राहीलाई उच्च गतिको इन्टरनेट डाटा सर्भिस र गुणस्तरीय भ्वाइस सेवा प्रदान गर्न चौथो पुस्ताको फोरजी सेवा सुरु भएको कार्यालय प्रमुख शर्माले बताए।
यसअघि सो स्थानमा १८ मिटरको पोल टावरबाट टुजी र थ्रिजी सेवा सञ्चालन गरिएको थियो। उक्त धुरी समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा छ । उक्त टावरबाट बडीगाड वडा नम्बर ४ जलजला, वडा नं. ७ भीमगिठे, वडा नं. ८ रणसिंह किटेनीसँगै छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिकाको अधिकांश भूभागमा उच्च गतिको इन्टरनेट चल्नेछ।
उच्च गतिको इन्टरनेट सेवा विस्तार भएपछि अनलाइन काम गर्न सजिलो भएको वडा नम्बर नं. ८ का वडाध्यक्ष यमबहादर श्रीष थापाले बताए।गोरखापत्रबाट
प्रकाशित: २९ मंसिर २०७८, बुधबार