काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो एस१२ सिरिज तथा वाच२ सार्वजनिक हुने मिति तय गरेको छ।
गत जुलाइमा कम्पनीले एस१० तथा एस१० प्रो स्मार्टफोन सार्वजनिक गरेको थियो भने अक्टोबरमा एस१०ई ल्याएको थियो।
यसै क्रममा कम्पनीले आज मंगलबार आगामी डिसेम्बर २२ मा कम्पनीको एस लाइनअपको नयाँ डिभाइस एस१२ सार्वजनिक गर्ने आधिकारिक घोषणा गरेको हो।
घोषणा अनुसार उक्त डिभाइस सार्वजनिकको कार्यक्रम चिनियाँ स्थानीय समय अनुसार बेलुकी साढे ७ बजे शुरु हुनेछ। कार्यक्रममा गत वर्षको सेप्टेम्बरमा आएको भिभो वाचको उत्तराधिकारीका रुपमा वाच२ पनि अनावरण गरिने बुझिएको छ।
कम्पनीले वेबो एकाउन्टमा एउटा टिजर पोस्ट गरेको छ जसमा यो डिभाइसको पछाडिपट्टि ट्रिपल क्यामरा सेटअप तथा अगाडि कर्भ्ड डिस्प्ले रहने बुझिएको छ।
यसैगरी भिभो वाच२ मा लामो समय ब्याट्री टिक्ने तथा चिनियाँ भाषाबाट अन्यमा मेशिनले नै अनुवाद गर्ने इन्डिपेन्डेन्ट कम्युनिकेशन फिचर रहनेछ। यसबाहेक यसले ई-सिम सपोर्ट गर्ने पनि आकलन गरिएको छ।
प्रकाशित: २८ मंसिर २०७८, मंगलवार