नासाको नयाँ स्लीपिङ ब्यागले अन्तरिक्षमा हुने आँखाको समस्या रोक्न सक्ने

Technology Khabar २८ मंसिर २०७८, मंगलवार

काठमाडौं ।

नासाले हालै एउटा आधुनिक स्लीपिङ ब्याग निर्माण गरेको छ जसले अन्तरिक्षमा हुन सक्ने आँखाको समस्यालाई रोक्ने आकलन गरिएको छ।

अन्तरिक्षयात्रीका लागि आँखाको स्पष्टता राम्रो हुनु निकै जरूरी हुन्छ। तर अन्तरिक्षको प्रभावका कारण उनीहरु पृथ्वीमा फर्कँदासम्म आँखाको ज्योति वा शक्ति घटिसकेको हुन्छ।

हालै यूटी साउथवेस्टर्न मेडिकल सेन्टरका अनुसन्धाताहरुले विकास गरेको उक्त स्लीपिङ ब्यागले अन्तरिक्षयात्रीको टाउकोबाट तरल पदार्थ प्रभावकारी रुपिमा सोसेर आँखामा हुनसक्ने धमिलोपनको समस्या समाधान गर्नसक्ने बताइएको छ।

आईएसएसमा ६ महिनाभन्दा बढी समयका लागि गएका नासाका आधाभन्दा बढी अन्तरिक्षयात्रीका आँखाको ज्योतिमा विविध प्रकारका समस्या आउने गरेको पाइएको छ।

यस्तै एउटा घटनामा सन् २००५ मा जोन फिलिप्स नाम गरेका अन्तरिक्षयात्री ६ महिनापछि अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट फर्किँदा उनको आँखाको ज्योति २०/२० बाट घटेर २०/१०० भएको बीबीसीले उल्लेख गरेको छ।

मंगल ग्रहमा वर्षाैंसम्मको यात्राका लागि यस्तो आँखामा आउने समस्या जटिल बन्न सक्छ। डा बेन्जामिन लेभिनले बीबीसीलाई बताए अनुसार यदि अन्तरिक्षयात्रीहरुले आफूले के गरिरहेको छु भन्ने कुरा प्रष्ट रुपामा देख्न नसकेको खन्डमा यसले मिसनलाई नै समस्या पार्न सक्छ।

त्यसैले आँखाको ज्योतिको समस्या समाधानका लागि आएको स्लीपिङ ब्याग अन्तरिक्षका लागि वरदानसिद्ध हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २८ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया