
काठमाडौं ।
बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जमा क्यामरा जडान कार्य सकिएको छ। आठ दिनदेखि सुरु भएको क्यामरा जडान कार्य सोमबार सकिएको हो।
राष्ट्रिय बाघ सर्वेक्षण २०२२ का लागि निकुञ्जको पश्चिम क्षेत्रमा क्यामरा जडान कार्य सकिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए।
जडान गरिएका क्यामरा २२ दिनसम्म राख्ने गरिन्छ। बाघ सर्वेक्षणमा क्यामरा ट्र्याप, सन्टो कपास, रेञ्ज फाइन्डर, जीपीएस, रेकर्ड फर्मलगायतका सामग्री प्रयोग गरी क्यामरा ट्र्यापिङ र अकुपेन्सी सर्वे विधि अपनाइएको उनले जानकारी दिए।
विभिन्न १३ भागमा गणनाका लागि क्यामरा जडान गरिन्छ अहिले निकुञ्जको पश्चिम क्षेत्र कसरासहितको भागबाट गणना गरिएको छ । चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघ पाइन्छ। बाघ गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र बाघ पाइने निकुञ्जबाहेकका क्षेत्रलाईसमेत समेटेर तीनवटा कम्प्लेक्स बनाएर काम सुरु भएको छ।
चितवन–पर्सा कम्प्लेक्समा करिब आठ सयवटा क्यामरा प्रयोगमा ल्याएको निकुञ्जले जानकारी दिएको छ।
सर्वेक्षणका क्रममा चितवन–पर्सा कम्प्लेक्समा सात, बाँके बर्दियामा र शुक्लाफाँटा–लालझाडी कम्प्लेक्समा तीन–तीनवटाका दरले हात्ती परिचालित छन्। बाघ सर्वेक्षण गर्न चितवन–पर्सा कम्प्लेक्समा मात्रै १०६ जना प्राविधिक खटिएका छन्।
तीन महिनाभित्र सर्वेक्षणको काम सकिने र प्राप्त नतिजा आगामी विश्व बाघ दिवस २९ जुलाईको दिनमा सार्वजनिक गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको योजना छ। गोरखापत्रबाट
प्रकाशित: २८ मंसिर २०७८, मंगलवार