
काठमाडौं ।
दक्षिण कोरियाली गाडी निर्माता हुन्डाईले भारतमा इलेक्ट्रिक भेहिकलमा कदम चालेको हालै आएको एक रिपोर्टमा बताईएको छ।
हुन्डाई मोटर इन्डियाले भारतको विद्युतीय सवारी बजारमा ४ हजार करोड भारतीय रुपैयाँको ठूलो लगानी गर्न लागेको र कम्पनीले भारतमा करिब आधा दर्जन नयाँ इलेक्ट्रिक गाडीहरू लन्च गर्ने रिपोर्टमा उल्लेख छ।
छिमेकी देश भारतमा पछिल्लो समय इलेक्ट्रिक भेहिकलको प्रयोग बढ्दो क्रममा छ। भारतीय ग्राहकहरुले आफ्नो आवश्यकता र बजेटअनुसार विद्युतीय सवारीसाधन खरिद गर्न थालेका छन्। यसैलाई ध्यानमा राखेर कम्पनीले इलेक्ट्रिक भेहिकल क्षेत्रमा लगानी बिस्तार गर्न लागेको हो।
ईटीमार्फत आएको समाचारअनुसार हुन्डाई मोटरले भारतको इलेक्ट्रिक भेहिकल खण्डमा आफ्नो प्रवेश चाहेको छ। कम्पनीले सन् २०२८ सम्ममा भारतमा ६ वटा नयाँ विद्युतीय सवारी साधन लन्च गर्नेछ र यी सबै विद्युतीय सवारी साधनहरू विभिन्न खण्डमा लन्च गरिने छ।
हुन्डाई मोटर इन्डियाका एमडी एसएस किमकाअनुसार विद्युतीय सवारीसाधन आगामी दिनमा अटोमोटिभ बजारको प्रमुख हिस्सा बन्न गइरहेको छ। यस मोडमा हुन्डाई कम्पनीले यस खण्डको लागि ६ हजार करोड रूपैयाँ लगानी गर्नेछ, जुन विद्युतीय सवारीका साथै चार्जिङ स्टेशन र ब्याट्रीको उत्पादनमा खर्च गर्ने योजना रहेको बताईएको छ।
प्रकाशित: २७ मंसिर २०७८, सोमबार