
काठमाडौं ।
हुम्ला जिल्लामा चार दिनदेखि अवरुद्ध भएको नेपाल टेलिकमको इन्टरनेट तथा मोबाइल सेवा बिहीबार देखि सञ्चालनमा आएको छ। टेलिकमले पठाएको उपकरण टावरमा जडान गरिएपछि सेवा सुचारु भएको हो।
नेपाल टेलिकम हुम्लाका लाइनम्यान रामबहादुर बोहराले टावरमा रहेको उपकरणमा खराबी आएको र त्यसको स्थानमा नयाँ उपकरण जडान गरिएपछि टेलिकमको मोबाइल, एडीएसएल, फोरजी र ल्यान्डलाइनको अवद्ध भएको सेवा चार दिनपछि सुचारु भएको बताए।
नेपाल टेलिकम हुम्ला शाखाले सिमकोट स्थित छोवाखोरमा रहेको टावरमा नयाँ उपकरण जडानपछि सेवा सुचारु भएको जनाएको छ। एक दिनअघि नेपालगञ्जबाट उपकरण लगिए पनि टावर रहेको स्थानमा हिउँ जमेका कारण दोस्रो दिन मात्र टेलिकमका प्राविधिक पुगेर नयाँ उपकरण जडान गरिएको हो।
सेवा सुचारु हुँदा सरकारी तथा गैर सरकरी कार्यालयबाट प्रदान हुने सेवा प्रवाहमा सहज भएको छ । टेलिकम हुम्लाले नयाँ उपकरण टावरमा जडान गरेपछि सबै सेवा पहिलेकै अवस्थामा सुचारु भएको बताएको छ। गोरखापत्र
प्रकाशित: २५ मंसिर २०७८, शनिबार