
काठमाडौं ।
गेमिङ कम्पनी टेन्सेनटले वैश्विक स्तरमा गुणस्तरीय गेम निर्माण तथा वितरणका लागि लेभल इन्फिनिट नामक प्रकाशन विभागको घोषणा गरेको छ।
यो विभागले भ्याम्पायर: द मास्करेड, ब्लडहन्ट तथा जीटीएफओलगायतका गेमहरुलाई वैश्विक स्तरमा पुर्याउन सहयोग गर्ने बताइएको छ।
लेभल इन्फिनिटको मुख्यालय आमस्टर्डम तथा सिंगापुरमा हुने र यसका कर्मचारी भने विश्वभरमा जहाँसुकै बसेर काम गर्न सक्नेछन्।
यसले प्राविधिक सहयोग, उत्पादन, खेलकुद एकीकरण तथा अन्तरराष्ट्रिय प्रकाशनका साथै सेवाका रुपमा गेम तथा स्थानीय र वैश्विक बजारको अन्तरंग विश्लेषणलगायतका विविध सुविधा तथा सेवा सहितको स्टुडियो उपलब्ध गराउनेछ।
यसको शुरुवाती प्रकाशनमा मोबाइल डिभाइसका लागि अरिना अफ भेलर, डोन्ट स्टार्भ: न्यूहोम तथा पर्सनल कम्प्युटरका लागि नेक्स्ट स्टुडियोजको सिंक्ड: अफ प्लानेटका साथै क्वान्टम स्टुडियोज, टिमी स्टुडियो ग्रुप तथा अन्य थुप्रै तेस्रो पक्षका डेभलपरहरुका एपहरु रहेका छन्।
प्रकाशित: २४ मंसिर २०७८, शुक्रबार