
काठमाडौं ।
एप्पलले आफ्नो नयाँ पुस्ताको स्मार्टफोन आईफोन १४ लाईनअपमा काम सुरु गरेको छ। क्यालिफोर्नियामा आधारित टेक कम्पनीले सेप्टेम्बर २०२२ मा आईफोन १४ लाइनअपका चार मोडेलहरू लन्च गर्न सक्ने विभिन्न रिपोर्टहरुले बताएका छन्। आईफोन १४, आईफोन १४ प्रो, आईफोन १४ म्याक्स र आईफोन १४ प्रो म्याक्स यी चार मोडलमा लन्च हुने अनुमान गरिएको छ।
यदि रिपोर्टहरू विश्वास गर्ने हो भने, कम्पनीले मिनी मोडेल आगामी आईफोन १४ लाइनअपबाट बन्द गर्न सक्नेछ। नयाँ रिपोर्टकाअनुसार अब आईफोन १४ म्याक्स स्मार्टफोनको डिस्प्लेको बारेमा नयाँ जानकारी बाहिर आएको छ।
द इलेकलाई उद्धृत गर्दै, गिज्मोचाइनाले आफ्नो रिपोर्टमा एप्पलको डिस्प्ले आपूर्ति श्रृंखलाको बारेमा जानकारी साझा गरेको छ। एप्पलले आइफोन १४ म्याक्स स्मार्टफोन कुन डिस्प्लेसँग प्रस्तुत गर्ने भन्ने निर्णय गर्न बाँकी छ।
एप्पलले हाल ६० हर्ज एलटीपीएस डिस्प्ले र १२० हर्ज एलटिपिएओ डिस्प्लेको बारेमा छलफल गरिरहेको छ। यदि कम्पनीले १२० हर्ज एलटिपिओ डिस्प्ले छनोट गर्छ भने कम्पनीले तिनीहरूलाई सामसङबाट खरिद गर्नुपर्नेछ।
ओएलईडी एलटिपिओ डिस्प्ले टेक्नोलोजीमा सामसङको लगभग एकाधिकार छ। सामसङले आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स मोडलहरूको लागि डिस्प्ले आपूर्ति गरिरहेको छ।
एप्पलले आफ्नो आपूर्ति श्रृंखला विविधीकरण गर्न सामसङमाथिको निर्भरता घटाउने प्रयास गरिरहेको बताईएको छ। शायद यही कारण हो कि कम्पनीले एलजी र बिओई जस्ता डिस्प्ले निर्माताहरूसँग साझेदारी गरिरहेको छ।
रिपोर्टकाअनुसार आईफोन १४ म्याक्समा ६० हर्जको एलटीपीएस प्यानल हुनसक्नेछ । यसको कारणमा हाल एलजी एलटीपीओ प्रविधिको साथ ओएलईडी डिस्प्लेहरू उत्पादन गर्न सक्षम छैन्। यसका साथै बिओई पनि यस प्रविधिसँग डिस्प्लेहरू उत्पादन गर्न सक्षम छैन।
स्मरणरहोस् सामसङ अझै पनि आईफोनको लागी एप्पलको सबैभन्दा ठूलो डिस्प्ले आपूर्तिकर्ता हो। सामसङले अर्को वर्षसम्म एप्पललाई १३ करोड डिस्प्ले उपलब्ध गराउन सक्नेछ। यद्यपि, एलजी र बिओईले पनि क्रमशः ६ करोड र ४.५ करोड डिस्प्ले आपूर्ति बढाउन सक्छ।
प्रकाशित: २३ मंसिर २०७८, बिहीबार