
काठमाडौं ।
महोत्तरी जिल्लाको मटिहानीस्थित नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा रहेको याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापीठमा एक समारोहबीच स्मार्ट कक्षाको उद्घाटन भएको छ।
कोरोना सङ्क्रमणका कारण विद्यापीठको अध्ययन अध्यापन प्रभावित हुँदै गएको समयमा विद्यापीठको नवनिर्मित भवनमा विद्यापीठका प्राचार्य वीरेन्द्रकुमार लालले स्मार्ट कक्षाको उद्घाटन गरेका हुन्।
विगत दुई वर्षदेखि कोरोना महामारीका कारणले विद्यापीठमा पठनपाठन अवरुद्ध हुँदै आएको बताउँदै प्राचार्य लालले भने, “लकडाउन र विशेष परिस्थितिमा विद्यार्थीको पढाइलाई निरन्तरता दिन स्मार्ट कक्षाले सहयोग पुर्याउनेछ ।’’
उनले अनलाइन कक्षाका लागि कम्प्युटर, प्रोजेक्टर, ल्यापटप, इन्भटर, फ्याक्स, स्क्यानर, प्रिन्टर र फोटोकपीलगायतका सामग्री व्यवस्थापन भएको जानकारी दिए ।
नेपाल संस्कृत विश्वविद्यालयद्वारा उपलब्ध गराइएको चार लाख २५ हजार बजेटमा सो स्मार्ट कक्षाको निर्माण गरिएको बताउँदै उनले क्यापसमा पठनपाठनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो विद्यापीठमा शास्त्री (स्नातक)देखि आचार्य (डिग्री) सम्मको पठनपाठन हुँदै आएको छ। गोरखापत्रबाट
प्रकाशित: २२ मंसिर २०७८, बुधबार