
काठमाडौं ।
लेनोभोका कार्यकारीहरुले हालै सानो गेमिङ ट्याब्लेट लेजियन प्याडको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
कम्पनीका कार्यकारीहरुले उक्त प्याडको दुई ओटा फोटो चिनियाँ सामाजिक सञ्जाल वेबोमा पोस्ट गरेका हुन्।
दुईमध्ये एउटा फोटो ट्याब्लेटको अगाडिको पाटो देखाइएको छ भने अर्कोमा त्यसै डिभाइसको पछाडि लेजियन ब्रान्डको ब्रान्डिङ गरिएको छ। फोटोमा यो डिभाइस सानो साइजमा रहेको देखिएको छ।
यो डिभाइस ८ इन्चको हुने आईटी होमले जनाएको छ। लेनोभोको लेजियन २ स्मार्टफोनको साइज आफैंमा ६.९२ इन्च रहेकामा प्याडको साइज ८ इन्च हुनु सानो नै मानिन्छ।
यो ट्याब्लेटमा भोतिक कन्ट्रोल नभएकाले यसअघिको लेनोभो लेजियन प्लेभन्दा फरक हुने बुझिएको छ। यो डिभाइस ७ इन्चको भए पनि यसमा जोयस्टिक, डी-प्याड तथा अन्य बटनहरु रहेकोमा लेजियन प्याडमा भने यी बटनहरु नहुने भएका हुन्।
यसबाहेक यसमा उच्च रिफ्रेश रेट तथा स्न्यापड्रागन चिपसेट दिइने बुझिएको छ। यो चिपसेट स्न्यापड्रागन ८ जेन१ वा ८८८ हुनसक्ने आकलन गरिएको छ।
प्रकाशित: २२ मंसिर २०७८, बुधबार