काठमाडौं ।
हुम्ला जिल्लाको सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा आइतबार रातिदेखि अवरुद्ध भएको छ। इन्टरनेट र मोबाइल सेवा अवरुद्ध हुँदा यसका सेवाग्राही मर्कामा रहेका छन्।
सेवाग्राही लोग भण्डारीले आइतबार बिहानबाट नेपाल टेलिकमका सबै सेवाले काम गर्न छोडेको बताए। टेलिकमको मोबाइल, एडीएसएल, फोरजी र ल्यान्डलाइन सेवा सबै १२ घण्टादेखि अवरुद्ध भएको जानकारी दिए। उनले सेवा अवरुद्ध भएसँगै सेवाग्राही मर्कामा परेको बताए।
नेपाल टेलिकम हुम्ला शाखाका लाइनम्यान रामबहादुर बोहराले खराबी आएको स्थान नै पत्ता लगाउन नसकिएको जनाए। उनले केन्द्रमा सम्पर्क गर्ने माध्यम नभएका कारण खराबी भएको स्थान पत्ता लगाउन नसकिएको बताए।
शाखाकै कार्यालय परिसरमा रहेको किरिने टावर, जुम्ला र कालीकोट कुन ठाउँको उपकरणमा खराबी आएको भन्नेबारे पत्ता लगाउनै नसकिएको टेलिकमले जनाएको छ। सेवा अवरुद्ध भएपछि सरकार तथा गैरसरकारी कार्यालयबाट प्रदान हुने सेवा प्रवाहमा समस्या आएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले इन्टरनेटका लागि सेवा प्रदान गर्दै आएको वर्ल्डलिङ्क कम्युनिकेसनको सेवा पनि अत्यन्तै सुस्त गतिले काम गरेकाले सेवाग्राही मर्कामा परेको बताए। उनले सेवा अवरुद्ध हुँदा अनलाइनबाट सम्पादन गर्ने काम गर्न नपाएको उल्लेख गरे। गोरखापत्रबाट
प्रकाशित: २१ मंसिर २०७८, मंगलवार