दुर्गमको विद्यालयमा स्मार्ट शिक्षा लागू

  • Technology Khabar | १९ मंसिर २०७८, आईतवार
दुर्गमको विद्यालयमा स्मार्ट शिक्षा लागू
सांकेतिक तस्विर

काठमाडौं ।

हुम्ला जिल्लाको दुर्गम भेगको विद्यालयमा स्मार्ट शिक्षा कार्यक्रम लागू भएको छ। सहयोगी हातहरूका सहयोगमा विद्यालयमा पठनपाठन कार्यका लागि आवश्यक सहयोग प्राप्त हुँदा विद्युतीकरण गर्ने लक्ष्यअनुसार यो कार्य लागू भएको हो।

जिल्लाको मध्य क्षेत्रको खार्पुनाथ गाउँपालिकाको मान्धारा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले स्मार्ट शिक्षा कार्यक्रम लागू भएको बताए। उनका अनुसार यो कार्यक्रम लागू भएसँगै अब कक्षा ६ देखि १० सम्मका सबै कक्षा र विषयमा यो प्रणालीबाट पठनपाठन सुरु भएको छ।

यसका लागि इन्टरनेट भएका बेला अनलाइनबाट र नभएका बेला अफलाइनबाट कक्षामा पठनपाठन गरिनेछ। यसका लागि सानो आकारको मुख्य ल्यापटपबाट ‘टच पेन’ प्रयोग गरी शिक्षकले अध्यापन गर्नुपर्नेछ।

यसमा एप्सबाट पाठ्यक्रमका अतिरिक्त श्रव्यदृश्य सामग्री शिक्षकले डाउनलोड गरेर अध्यापन गर्न सक्ने छन्। उनले यसले गर्दा हाल विद्यालयमा प्रयोग हुँदै आएको ह्वाइट बोर्ड, प्रोजेक्टर, चक, डस्टरसमेत विस्थापित भएको बताए।

शाहीले विद्यालयमा नयाँ प्रविधि भित्रिएको र अब शिक्षकले निक्कै मिहिनेत गरेर अगाडि बढ्नुपर्ने खाँचो रहेको औँल्याए। बाल विकासका विद्यार्थीदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई पठनपाठन गर्न सकिने भएको भए पनि शिक्षकमा सीपको कमीका कारण हाल यो प्रविधिबाट पठनपाठन सुरु गर्न नसकिएको उनको भनाइ छ।

यसका लागि शिक्षकलाई दुई महिनाभित्र तालिम दिने तयारी सहयोग संस्थाले गरेको विद्यालयले जनाएको छ। यसका लागि उक्त विद्यालयलाई काठमाडौँ जेसुइत सामाजिक संस्थाले सहयोग गरको छ। संस्थाबाटै प्राविधिक हुम्ला आएर उपकरण जडान गरेका थिए।

हाल कक्षा यो प्रविधिबाट पठनपाठन सुरु भएका कक्षामा १२५ जना विधार्थी तथा शिक्षक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। यो प्रविधिबाट पठनपाठन सुरु गर्ने हुम्लाको अग्रणी विद्यालय भएको छ। गोरखापत्र

प्रकाशित: १९ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार