
काठमाडौं ।
नेपाल टेलिकमको जीएसएम सेवाका लागि हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–७, धारापोरीमा जडान भएको बीटीएस उपकरणमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्ध भएको छ।
विद्युत् सर्ट हुँदा आगलागी भएर जडान गरिएको सो मेसिनसहित टेलिकमको टावर तथा आवश्यक अन्य सामग्री पनि नष्ट भएको बताइएको छ ।
प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले धारापोरीमा जडान भएको नेपाल टेलिकमको जीएसएम मोबाइल सेवाका लागि जडान भएको उक्त उपकरणमा आगलागी भएको बताए । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनको भनाइ छ।
अहिले हुम्लाका डाँडाफया, माझगाउँ, पानीनाउला, ओख्रोन, ग्वालेखोर, जबुका, धारापोरी, पाम्लाथुङ, लामाखोल्सी, खोली, स्याँडा, याङ्गुलगायतका बस्तीको मोबाइल सेवा अवरुद्ध भएको छ।
टावर र उपकरण जडान गरेर राखिएको भाडाको घरमा पनि आगलागी भएको उनले बताए। सो स्थानमा प्रहरीले मुचुल्का उठाएको र त्यसपछि क्षतिका यथार्थ विवरण आउने उनले जानकारी दिए। गोरखापत्रबाट
प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार