
काठमाडौं ।
विश्वको शीर्ष स्मार्टफोन निर्माता कम्पनी सामसङले पाकिस्तानमा उत्पादन सुरु गरेको छ। यसले पाकिस्तान सरकार र उद्योगको लागि आयात बिल घटाउने अपेक्षा गरिएको छ।
सामसङको उत्पादन इकाईमा सांसदहरूको भ्रमणको क्रममा कम्पनीको व्यवस्थापनले पाकिस्तानमा स्मार्टफोन उत्पादन उद्योगका चुनौतीहरू र यस क्षेत्रमा द्रुत वृद्धिको सम्भावनाबारे जानकारी गराएको थियो।
पाकिस्तानी समाचार पत्र ‘डन’ को रिपोर्टले सिनेटको उद्योग तथा उत्पादनसम्बन्धी स्थायी समितिका अध्यक्ष फैसल सब्जवारीलाई उद्धृत गर्दै सामसङले पाकिस्तानमा उत्पादन सुरु गरेको बताएको छ।
फैसलको नेतृत्वमा समितिका सदस्यहरूले कम्पनीको स्मार्टफोन उत्पादन इकाई र अटोमोबाइल उत्पादन प्लान्टको भ्रमण गरेका थिए। सामसङले पाकिस्तानमा प्रतिवर्ष करिब ३० लाख यूनिटसम्म ह्याण्डसेट उत्पादन गर्ने लक्ष्य राखेको छ।
फैजलले भने, “सामसङले चार महिनामा उत्पादन सुरु गरेको छ, स्थानीय उद्योगका साथै सरकारले दिएको राम्रो वातावरणले पनि सहयोग गरेको छ । उद्योगलाई एसेम्बलिङबाट स्थानीयकरणतर्फ लैजानुपर्छ भन्ने मेरो मान्यता हो। ”
पाकिस्तानमा मोबाइल फोनको स्थानीय उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। पाकिस्तान टेलिकम्युनिकेसन अथोरिटीको तथ्याङ्कअनुसार स्थानीय उत्पादन कारखानाहरूमा मोबाइल फोनको उत्पादन यस वर्षको पहिलो १० महिनामा झण्डै दोब्बर बढेर १ करोड ८८ लाख ७० हजार युनिट पुगेको छ। तर, मोबाइल फोनको स्थानीय उत्पादन बढे पनि आयात भने घटेको छैन ।
जुलाई र अक्टोबरको बीचमा, पाकिस्तानमा ६४ करोड ४७ लाख डलर मूल्यका मोबाइल फोनहरू आयात गरिएको थियो। यो संख्या गत वर्षको सोही अवधिमा करिब ५ करोड ६० लाख डलर थियो ।
सामसङले पाकिस्तानमा मोबाइल फोन उत्पादन गर्न लकी ग्रुपसँग साझेदारी गरेको छ। लक्की ग्रुपका प्रमुख मोहम्मद अली तबाले भने, “हामीले वार्षिक करिब ३० लाख मोबाइल फोन उत्पादन गर्ने लक्ष्य राखेका छौं। उत्पादन इकाईमा हुने सबै काम म्यानुअल हुन्छ। यसले कति रोजगारी सृजना गर्छ भन्ने अनुमान गर्छ।”
उनले मुलुकमा एसेम्बलिङभन्दा पनि स्थानीयकरण गर्नुपर्ने र त्यसका लागि औद्योगिक क्षेत्रले ठूलो योगदान दिनुपर्नेमा जोड दिए ।
तर सो रिपोर्टमा कस्ता प्रकारका र सिरिजका फोनहरु उत्पादन भईरहेको छ भन्ने जानकारी दिईएको छैन्।
प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार