२०१८ मा आईएसएसमा प्रेसर लीक भएको घटनालाई रुसले आपराधिक मान्ने

  • Technology Khabar | १७ मंसिर २०७८, शुक्रबार
२०१८ मा आईएसएसमा प्रेसर लीक भएको घटनालाई रुसले आपराधिक मान्ने

काठमाडौं ।

सन् २०१८ मा अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा भएको एउटा घटनालाई रुसले जानीजानी गराइएको भन्दै अपराधको संज्ञा दिएको छ।

सन् २०१८ मा आईएसएसमा रहेको सोयुज एमएस-०९ यानमा २ मिलिमिटरको प्वाल परेको थियो।

उक्त प्रेसर लीकको घटनाले आईएसएसमा रहेका कसैलाई पनि नकारात्मक प्रभाव नपरे पनि रुसले भने उक्त घटना जानाजानी गरिएको भन्दै आपराधिक क्रियाकलाप भएकोले मुद्दा हाल्ने संकेत गरेको हो।

आर्स टेक्निकाका अनुसार हालै आरआईए नाभोस्तिमा प्रकाशित एउटा लेखमा रुसको रोस्कोस्मोस अन्तरिक्ष नियोगले हालै उक्त घटनासम्बन्धी आफ्नो अध्ययन पूरा गरेको र त्यसको प्रतिवेदन देशका कानून कार्यान्वयन अधिकारीहरुलाई बुझाइसकेको छ।

यो प्रतिवेदनले आपराधिका क्रियाकलापको संज्ञा दिँदै संलग्नहरुका विरुद्ध कानूनी कारबाहीका लागि मार्गप्रशस्त गरेको बताइएको छ।

रोस्कोस्मोसले आधिकारिक रुपमा उक्त प्रेसर लीक हुनुको कारण नखुलाए पनि रुसी सञ्चारमाध्यमले भने यसका बारेमा भ्रामक समाचार प्रसार गरिरहेको एन्ग्याजेटले उल्लेख गरेको छ।

उक्त लेखमा आईएसएसको उक्त यानमा परेको प्वाल त्यतिबेला त्यहाँ उपस्थित नासाका अन्तरिक्षयात्री सेरेना औनन चान्सलरले पारेको भन्दै रुसी सञ्चारमाध्यमहरुले प्रकाशन गरिरहेका छन्।

विशेष गरी रुसको तास समाचार संस्थाका अनुसार इज्भेस्टिया नामक अखबारले औनन चान्सलरले नै रगत जमेकाले वा आफ्ना सहयात्रीहरुसँग झगडा परेकाले पृथ्वीमा फर्कन जानीजानी उक्त प्वाल पारेको हुनसक्ने भन्दै समाचार प्रकाशित गरेको थियो।

प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...