मोबाइल फोन आयातमा नियन्त्रण गर्दै सरकार, एमडीएमएस छिट्टै लागू हुने

  • Technology Khabar | १५ मंसिर २०७८, बुधबार
मोबाइल फोन आयातमा नियन्त्रण गर्दै सरकार, एमडीएमएस छिट्टै लागू हुने

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल व्यवस्थापन गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली जुनसुकै हालतमा लागू हुने बताएका छन्।

बुधबार नेपाल मोबाइल वितरक संघको दोस्रो साधारणसभालाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले अवैध तरिकाले नेपाल भित्र्याइने मोबाइलहरुलाई निरुत्साहित गर्दै आधिकारिक रुपमा कर तिरेर ल्याइएका मोबाइलहरुलाई बढावा दिनका लागि एमडीएमएस अर्थात् मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्न आफूले सम्बन्धित निकायलाई तोकसहित निर्देशन दिइसकेको बताएका हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्दै मन्त्री शर्माले मोबाइल व्यवसायीहरुको हकहित तथा वैध सामग्री आयातका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न आफू तत्पर रहेको प्रतिबद्धता पनि व्यक्त गरे।

मन्त्री शर्माले मोबाइल फोन अब विलासिता नभई नरहेको बरु अत्यावश्यक  यसैमार्फत् काम र पढाइसमेत हुने भएकाले सरकारले कुनै अड्चन खडा गर्ला भनेर नतर्सन व्यवसायीहरुलाई आश्वस्त पारे।

लामो समयदेखि लागू हुने भनेर अड्किरहेको एमडीएमएस लागू हुनेमा मोबाइल व्यवसायीहरुको  दुविधाप्रति लक्षित गर्दै अर्थमन्त्री शर्माले भने,  ‘एमडीएमएस तुरुन्तै लागू गर्न मैले तोकसहित सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु, सरकारले यसमा बाधा अड्चन सिर्जना गर्ला भनेर डराउनु पर्दैन, राम्रो काममा सरकार हरेक किसिमले सहयोग गर्न तत्पर छ।’

यसैबीच मन्त्री शर्माले मोबाइल आयातमा कडाइ गरिएको बताए।  बैध रूपमा अबैध काम भइरहेको भन्दै उनले सुनको उदाहरण दिँदै मोबाइलमा कडाइ गर्दा पनि राज्यलाई फाइदा पुग्ने बताए।

‘बैध रूपमा अबैध काम भइरहेको छ यहाँ’, मोबाइल पनि अबैध रूपमा भित्रिइरहेकोप्रति सङ्केत गदै मन्त्री शर्माले भने, ‘सुनको बाला बनायो अनि लगाएर आयो । त्यस्तालाई केही समय जफत नगरौँ भनेर नीति लिएर निगरानी गर्दा दैनिक २१-२२ किलो सुन आएको भेटियो।’ उनले त्यस्ता सुनको भन्सार लिएर छोडिएको समेत जानकारी दिए।

यस्ता वस्तुको माग बढ्नु सकारात्मक रहेको र आयात प्रक्रियामा  राज्यले पनि उचित राजस्व संकलन गरी अर्थतन्त्रमा टेवा पुर्याउने भएकाले जतिसक्दो  छिटो यो एमडीएमएस प्रणाली लागू गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ थियो।

अर्थमन्त्री शर्माले मोबाइलको बजारको पाटोबाहेक त्यसको प्रयोग र सदुपयोगका साथमा दुरुपयोगको चुनाैती रहेको पनि औंल्याए।

बालबालिका र युवायुवतीमा अनलाइन गेमको लतजस्ता समस्या पनि व्याप्त रहेकाले मोबाइलको सदुपयोगमा बढी जोड दिनुपर्ने विचार मन्त्री शर्माले व्यक्त गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नबिल बैंकका सीईओ अनिलकेशरी शाह, नेपाल मोबाइल आयातकर्ता संघका अध्यक्ष दिपक मल्होत्रा, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्याल लगायतको उपस्थिति थियो।

प्रकाशित: १५ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...