
काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ। एनसीएचएलले गत मंसिर ७ गतेबाट लागू हुने गरी उक्त प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरी घटाएको हो।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले सो शुल्कमा परिवर्तन गरेको हो।
यससँगै अब बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले न्यूनतम २ देखि अधिकतम ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन्।
नयाँ कारोबार शुल्क अनुरुप बैंक/वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम नेरु.२ देखि ८ सम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन्।
एनसीएचएलका अनुसार ५०० रुपैयाँसम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क रु.२,५०० रुपैयाँभन्दा माथि ५ हजार रुपैयाँसम्म प्रति कारोबार शुल्क ४ रुपैयाँ र ५ हजार रुपैयाँभन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ लाग्ने भएको छ।
यसले ग्राहकलाई एनसीएचएलका कनेक्टआईपीएस वेब/मोबाईल एप, बैंक/वित्तिय संस्थाका मोबाईल/इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड/विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ ।
कनेक्टआईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क २ देखि ५ रुपैयाँ कायम रहेको छ।
नेपाल राष्ट्र बैंकको मार्ग निर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवद्र्घनका निम्ती एनसीएचएलले समय/समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्दै आएको छ। हालै नेपाल राष्ट्र बैंकबाट बैंक/वित्तीय संस्थाको मोबाईल बैंकिङ्गमा कारोबार शुल्क १० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म तोकिएको थियो।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्टआईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धि भएको छ।
त्यसैगरी, उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या १ लाख १७ हजार १२ तथा रकमको आधारमा दैनिक औसत ८ अर्ब तीन करोड रुपैयाँ बराबरको रहेको छ। कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने एनसीएचएलले जनाएको छ।
प्रकाशित: १५ मंसिर २०७८, बुधबार